ठाकुर–महतोबीच नै बढ्यो विवाद, ओलीलाई बहुमत जुटाउने अभियानमा लाग्यो ‘ब्रेक’

शरतसिंह भण्डारी र निर्जला राउतले पनि गरेनन् हस्ताक्षर


२३ बैशाख २०७८, बिहीबार
mahantha rajendra

काठमाडौं, २३ बैसाख । प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा वहुमत जुटाउन लागिपरेका जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो आफैबीच विवाद शुरु भएको छ ।

प्रधानमन्त्री ओलीलाई समर्थन गर्दै आफू पक्षका सांसदहरुको हस्ताक्षर समेत संकलन शुरु गरेका ठाकुर र महतोबीच पार्टीमा संसदीय दलको नेता को बन्ने भन्ने विषयमा विवाद शुरु भएको स्रोतले जानकारी दिएको छ । ठाकुरले आफै संसदीय दलको नेता बन्ने तयारीमा छन् । यता महतोले आफू दलको नेता बन्नुपर्ने अडान राखेपछि ठाकुरलाई तनाब शुरु भएको स्रोतको भनाइ छ । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी पार्टीबीच पार्टी एकीकरण हुने क्रममा नयाँ पार्टी जसपाको संसदीय दलको नेता महतोलाई बनाउने नेताहरूका बीच सहमति भएको बताइएको थियो ।

महतोले पूर्व सहमतिअनुसार संसदीय दलको नेता आफूलाई बनाउनुपर्ने अडान राखेपछि ठाकुर र महतोबीच विवाद भएको हो । ठाकुर र महतोबीच विवाद हुँदा सांसद र केन्द्रीय सदस्यहरूको हस्ताक्षर अभियान प्रभावित भएको छ । ओलीलाई वैशाख २७ गते विश्वासको मत दिनका लागि ठाकुरले सांसद र केन्द्रीय सदस्यहरूलाई काठमाडौं बोलाएर हस्ताक्षर गराउन थालेका थिए । ठाकुरको अभियानलाई विवादले समस्या भएको छ ।

प्रधानमन्त्री ओलीलाई विश्वासको मतमा सघाउनुपर्ने अध्यक्ष ठाकुरको अभियानमा साथ दिइरहेका जसपाका वरिष्ठ नेता राजेन्द्र महतोका साथै कार्यकारिणी सदस्यहरु शरतसिंह भण्डारी र निर्जला राउतले हस्ताक्षर गरेका छैनन् । जसपाका अध्यक्ष ठाकुरले त्यो हस्ताक्षरलाई दुरुपयोग गर्ने सम्भावना नेता महतोले देखेपछि हस्ताक्षर गर्न इन्कार गरेको महतो निकट एक नेताले बताए । जसपाका अध्यक्ष ठाकुरले दुईटा पत्रमा हस्ताक्षर गराइरहेका छन् ।

अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराई प्रधानमन्त्री ओलीलाई हटाएर नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने पक्षमा छन् । ठाकुरले एमालेसँगको सत्ता समीकरणमा जसपा निर्णायक शक्ति भएको बताउँदै आएका छन् ।

ठाकुरले प्रधानमन्त्री बन्ने अवसर आयो भने त्यसको लागि आफू नै उपयुक्त पात्र भएको भन्दै संसदीय दलको नेता आफू नै बन्नुपर्ने जिकिर पार्टीमा गरेका छन् । जसपामा उपेन्द्र यादव र बाबुराम भट्टराई संसदीय दलमा बहुमतमा छन् । महन्थ ठाकुर र राजेन्द्र महतो निकट मानिने सांसदहरू उपेन्द्र यादवतिर लागेपछि बहुमतको अवस्था छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७