ओलीलाई अर्को धक्का : लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा कांग्रेसका पाण्डेय विजयी


१७ जेष्ठ २०७८, सोमबार
Driga narayan pandey

बुटवल, १७ जेठ । लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्वार दृगनारायण पाण्डेय विजयी भएका छन् ।
उनले प्रतिद्वन्द्वीलाई ५२८ मतभारले पछि पार्दै विजयी भएका हुन् । पाण्डेयले ४,१४० मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेद्वार चन्द्रबहादुर खड्काले ३,६१२ मत पाएका छन् ।

पाण्डेयलाई कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र उपेन्द्र यादव पक्षीय जनता समाजवादी पार्टी पार्टीको समर्थन थियो ।पाण्डेय यसअघि एमालेका तर्फबाट लुम्बिनी प्रदेशसभा सदस्य थिए । उनी सांसद्बाट राजीनामा दिएर कांग्रेसमा प्रवेश गरेका थिए । उनी कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–१ निवासी हुन् ।

पाण्डेय एमाले परित्याग गरी कांग्रेस प्रवेश गरेका थिए । खड्का एमालेका आधिकारिक उम्मेदवार थिए । निर्वाचन आयोगका अनुसार दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरमा आज बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान भएको थियो । मतदानमा २९७ मत खसेको थियो । सो प्रदेशमा राष्ट्रिय सभाको उपनिर्वाचनमा ३ सय मतदाता थिए ।

खड्कालाई जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले साथ दिएको थियो भने पाण्डेयलाई जसपाको उपेन्द्र यादव–डा. बाबुराम भट्टराई पक्ष, एमालेको माधवकुमार नेपाल समूह, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको समर्थन छ ।
बागमती प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा पनि प्रधानमन्त्री केपी शर्मा ओली पक्षका उम्मेदवार रामबहादुर थापा ‘बादल’ पराजित भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७