नेपाल प्रहरीको सुडान मिसन बन्द, सशस्त्र प्रहरीको एफपियू थप हुँदै


२१ जेष्ठ २०७८, शुक्रबार
Sudan2021 06 04 01 48 23

काठमाडौं, २१ जेठ । द्वन्द्वग्रस्त अफ्रिकी देश सुडानमा खटिएको नेपाल प्रहरीको फम्र्ड पुलिस युनिट (एफपियू) मिसन बन्द भएको छ । राष्ट्रसंघको सुरक्षा परिषद्कै निर्णयअनुसार मिसन बन्द भएको हो ।

मिसन बन्द भएपछि त्यहाँ कार्यरत ८६ प्रहरी स्वेदश फर्किएका छन् । अन्य ८३ जनालाई भने फरक जिम्मेवारीका लागि करिब ६ महिना राख्ने निर्णय भएको छ । एफपियूलाई पुलिस गार्ड युनिट (पिजियू) का रूपमा आगामी डिसेम्बरसम्म राख्ने निर्णय भएको छ । पिजियूले युएन क्याम्प र बन्दोबस्तीका सरसामानको सुरक्षा गर्नेछ ।

सुरक्षा परिषद्ले गत ३१ डिसेम्बरदेखि नै सुडान मिसन बन्द गर्ने निर्णय गरेको थियो । यो वर्षभित्र राष्ट्रसंघअन्तर्गत शान्ति मिसनमा खटिएका सबै सुरक्षाकर्मी फिर्ता हुनेछन् । सुडानमा विभिन्न देशका १३ वटा एफपियू कार्यरत छन् । अन्य देशका सुरक्षाकर्मी पनि फिर्ता भएका छन् । पूर्ण रूपमा शान्ति स्थापना भइनसके पनि सुडान सरकारको दबाबमा सुरक्षा परिषद्ले मिसन अन्त्य गरेको हो ।

सुडान मिसन बन्द भएपछि केही सुरक्षाकर्मी फिर्ता आइसकेको र केही बाँकी रहेको प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले बताए । सन् २००८ सेप्टेम्बरमा स्थापना भएको प्रहरीको सुडानस्थित एफपियू मिसन त्यही हो, जसको बन्दोबस्तीका सामान खरिदमा करोडौँ भ्रष्टाचार हुँदा सिंगो प्रहरी नै बदनाम भएको थियो । जुन अनियमिततामा नेपाल प्रहरीका तीन पूर्व आइजिपीसहितका अधिकारीले जेल सजाय भोगेर छुटिसकेका छन् ।

मिसनका लागि आवश्यक एपिसीलगायत सामान खरिदमा २८ करोड अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । सुरुमा प्रयोग भएका सामान गुणस्तरहीन भएको भन्दै राष्ट्रसंघले प्रयोग गर्न नदिएपछि प्रहरीले पछि फेरि खरिद गरेर पठाएको थियो । मिसन बन्द भएसँगै ती सामान पनि अब नेपाल फिर्ता ल्याउनुपर्ने हुन्छ  । हाल सुडानमा प्रहरीका आठवटा एपिसी छन्, जसमध्ये दुई वटा भने केही महिनाका लागि राखिने भएको छ । थप सामान राष्ट्रसंघले नै नेपाल ल्याई दिनेछ ।

नेपाल प्रहरी एफपियू मिसनअन्तर्गत हाइटी र सुडानमा खटिएको थियो । हाइटी मिसन दुई वर्षअघि नै बन्द भइसकेको छ । सुडान मिसन पनि बन्द भएपछि शान्ति मिसनमा जाने प्रहरीको अवसर कम हुँदै आएको छ । एफपियूबाहेक प्रहरी पर्यवेक्षकका रूपमा ‘अनपोल मिसन’ को कोटा पनि कम हुँदै गएको छ । हाल ३२ जना प्रहरी पर्यवेक्षकका रूपमा विभिन्न अफ्रिकी देशमा खटिएका छन् । अनपोल मिसनका लागि राष्ट्रसंघले लिने परीक्षा उत्तीर्ण गरेका कतिपय प्रहरी अवसर कम हुँदा जान पाएनन् । कोरोना महामारी कम भएपछि फेरि अर्काे परीक्षा लिने प्रहरी प्रधान कार्यालयको तयारी छ ।

सशस्त्र प्रहरीको एफपियू थप हुँदै

नेपाल प्रहरीको एफपियू बन्द हुँदा राष्ट्रसंघले सशस्त्र प्रहरीलाई भने थप अर्काे एफपियू दिने तयारी गरेको छ । सशस्त्र प्रहरीका हाल दक्षिण सुडानमा दुईवटा एफपियू कार्यरत छन् । दुई वर्षअघि नै अर्काे एफपियूका लागि तयारी थालिएको र राष्ट्रसंघको टोली केही हप्तापछि निरीक्षणमा आउन लागेको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआजी राजु अर्यालले बताए । सशस्त्र प्रहरीले करिब ३० करोड खर्च गरेर दुई वर्षअघि नै बन्दोबस्तीमा सामान खरिद गरेर राखेको छ । नेपाली सेनामार्फत ती सामान खरिद गरिएको थियो ।

राष्ट्रसंघले अर्काे एफपियू थप्ने सम्भावना भएकाले त्यसका लागि जनशक्ति छनोट र तालिमको काम भइरहेको डिआइजी अर्यालको भनाइ छ । अफ्रिकी देश सेन्ट्रल अफ्रिकन रिपब्लिक (कार) वा मालीमा नयाँ मिसन थप हुने सम्भावना रहेको सशस्त्र प्रहरी स्रोत बताउँछ । राष्ट्रसंघले मालीमा नयाँ एफपियू पठाउनेबारे नेपाल प्रहरीसँग समेत छलफल गरेको थियो । तर, एपिसीलगायत बन्दोबस्तीका सामान तत्काल खरिद गर्न सम्भव नभएपछि पछिल्लो पटक यसबारे कुनै छलफल नभएको प्रहरी स्रोतले बतायो । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७