खेतमा खनिएको पोखरीमा डुबेर एकै गाउँका पाँच बालिकाकाे मृत्यु, दुई जना बेपत्ता


२८ जेष्ठ २०७८, शुक्रबार
child death dhanusa 6IfdA8KEZi

धनुषा, २८ जेठ । धनुषाको मुखियापट्टी मुसहरनिया–६ मा आज (शुक्रबार) पाँच बालिकाको पोखरीमा डुबेर ज्यान गएको छ ।

जिल्लाको दक्षिणी भेग नेपाल–भारतको सीमानामा पर्ने मुखियापट्टी मुसहरनिया गाउँपालिका–६ स्थित एकै गाउँका पाँच बालिकाको पोखरीमा डुबेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया, योगेन्द्र भगतकी १० वर्षीया छोरी चन्द्राकुमारी, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मन्जु, जगरनाथ ठाकुरकी १२ वर्षीया नातनी चाँदनी र उत्तिम साहकी १२ वर्षीया छोरी ललिता रहेको प्रहरीले जनाएको छ । स्थायनीय हुलास यादवको खेतमा खनिएको करिब नौ फिट गहिरो पोखरीमा पौडी खेल्ने क्रममा डुबेर उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । गाउँका पाँच बालिकाको एकैपल्ट ज्यान गएपछि गाउँमा शोक छाएको छ ।

बालिकाहरूको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए । उनले भने, ‘हामीलाई खबर प्राप्त हुनासाथ प्रहरी परिचालन गरेको थियौं तर त्यहाँ पुग्दा ५ बालिकाको मृत्यु भइसकेको थियो । अहिले उनीहरुको शव निकालेका छौं, दुई जना अझै बेपत्ता छन्, उनीहरु पोखरीबाट गाउँ गए वा पोखरीमै डुबेका छन्, यकिन हुन सकेको छैन ।’

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार मिश्रको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको प्रहरी उपरीक्षक रानाभाटले बताए । अहिले बेपत्ताहरुको खोजी कार्य जारी रहेको समेत उनले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७