जसपा विवादमा निर्वाचन आयोगले महन्थ ठाकुर पक्षसँग माग्यो लिखित जवाफ


७ असार २०७८, सोमबार
mahantha

काठमाडौं, ७ असार । उपेन्द्र यादव पक्षले जनता समाजवादी पार्टी नेपाल (जसपा) को आधिकारिकता दाबी गरेपछि निर्वाचन आयोगले महन्थ ठाकुर पक्षसँग लिखित जवाफ माग गरेको छ ।

आयोगले जसपाको ठाकुर पक्षलाई १५ दिनको समय उपलब्ध गराउँदै जवाफ दिन भनेको हो । राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ (२) मा एक पक्षले आधिकारिता दाबी गर्दै निवेदन दिएमा अर्को पक्षलाई १५ दिनको समय दिएर जवाफ माग्नुपर्ने व्यवस्था छ ।

अर्को पक्षले माग गरेमा थप १० दिन सकिने व्यवस्था ऐनमा रहेको छ । असार ४ गते यादव पक्षले आयोगसमक्ष आधिकारिकताको दाबी गरेका थिए । यादवले कार्यकारिणी समितिका ५१ मध्ये ३० जना सदस्यको हस्ताक्षरसहित दलको आधिकारिता दाबी गरेका हुन् ।

यादव पक्षले आधिकारिकता दाबी गर्दै निवेदन दिएपछि आयोगले ठाकुर पक्षलाई पत्र पठाएर लिखित जवाफ पेस गर्न भनेको हो । जसपामा विवाद बढ्दै गएपछि दुवै पक्षले एकअर्कालाई कारबाही गर्दै आयोगलाई जानकारी गरारहेका छन् ।

गत जेठ १८ गते यादव पक्षले ठाकुर पक्षका ४ जना र ठाकुरले यादवलाई निष्कासन गर्दै आफ्नो दलको दर्ता किताबलाई अद्यावधिक गर्न अनुरोध गरेका थिए । तर, आयोगको जेठ ३१ को बैठकले दुवै पक्षको कारबाहीलाई अस्वीकार गर्दै साविक पदाधिकारीलाई कायमै रहने जनाएको छ ।

असार १ मै ठाकुर पक्षले विवादित विवरणसहित आयोगमा कागजपत्र दर्ता गरेपछि उपेन्द्र यादव पक्षले त्यसको खण्डन गर्दै आधिकारिकता दाबी गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७