दार्चुला घटना : गृह मन्त्रालयले बनायो छानबिन समिति


१७ श्रावण २०७८, आईतवार
griha home

काठमाडौं, १७ साउन । दार्चुलामा भारतीय सुरक्षाकर्मी (एसएसबी) ले तुइन काटिदिंदा एक नेपाली युवा महाकाली नदीमा खसेर बेपत्ता भएको घटना छानबिन गर्न गृह मन्त्रालयले एक समिति गठन गरेको छ । दार्चुला घटनाको छानबिन गर्नका लागि सहसचिव जनार्दन गौतमको संयोजकत्वमा एक समिति गठन गरिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले जानकारी दिए ।

गौतमको संयोजकत्वमा सुदूरपश्चिम प्रदेशका डीआईजी पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक (डीआईजी) हुतराज थापा, सशस्त्रका एसएसपी सुरेश कुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य रहने गरी ५ सदस्यीय छानबिन समिति गठन गरिएको हो । घटनाबारे सत्यतथ्य बुझेर प्रतिवेदन पेश गर्न उनीहरुलाई १० दिनको समय दिइएको छ । सत्ता पक्षीय दल नेकपा माओवादी केन्द्रले समेत दार्चुला घटना अमानवीय रहेको बताउँदै दोषीलाई कारवाहीका लागि भारत सरकारसँग कुरा गर्न सरकारसँग माग गरेको छ ।

शुक्रबार बिहान साढे ८ बजे दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ माल भन्ने स्थानबाट भारत उत्तराखण्ड जिल्लाको पिथौरागढमा पर्ने पांगल भन्ने स्थानमा जाने क्रममा व्यास गाउँपालिका–२ माल बस्ने ३० वर्षीय जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा खसेर बेपत्ता छन् । भारतीय पक्षले तुइनको डोरी काटिदिएपछि खसेका उनी महाकालीको भेलमा वेपत्ता भएका हुन् । भारतीय सुरक्षाकर्मीको उक्त व्यवहारको अहिले सर्वत्र आलोचना भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७