माधव पक्षको आज केन्द्रीय कमिटी बैठक बस्दै, सरकारमा जाने गर्ला निर्णय ?

ओली पक्षले भन्यो-विधान विपरीत गतिविधिमा नलाग्नू


२१ श्रावण २०७८, बिहीबार
Madhavkumar Nepal Senior Leader of Uml scaled

काठमाडौं, २१ साउन । नेकपा एमालेको माधव नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक आज (बिहीबार) बस्दै छ । आज बस्ने बैठकले सरकारमा जाने अथवा नजाने औपचारिक निर्णय गर्ने नेताहरूले बताएका छन् ।

नेपाल समूहले केन्द्रीय कमिटीबाट औपचारिक निर्णय गरेपछि शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको काम थाल्ने तयारी गरेका छन् । देउवालाई विश्वासको मत नदिएका नेपाल समूहका नेताहरू सरकारमा जान नहुने पक्षमा छन् । उनीहरूले पार्टी एकता गरेर जानुपर्नेमा जोड दिइरहेका छन् ।

तर, तेस्रो तहका नेता तथा सांसदहरू भने सरकारमा सहभागी हुनुपर्ने भन्दै नेता नेपाललाई दबाब दिइरहेका छन् ।
यही द्वन्द्वकाबीच औपचारिक निर्णय गर्न नेपाल समूहले केन्द्रीय कमिटी बैठक डाकेको हो । खनाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक बिहीबार बिहान ११ बजे बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बस्ने छ ।

खनाल–नेपाल समूह सरकारमा सहभागी भए खनाल–नेपाल समूह र माओवादी केन्द्रलाई बराबरी ६÷६ मन्त्रालय बाँड्ने तयारी भएको छ । जसपालाई ४ तथा कांग्रेसलाई ८ मन्त्रालय पर्ने देखिएको छ ।

ओली पक्षले भन्यो-विधान विपरीत गतिविधिमा नलाग्नू
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आज बोलाएको बैठकमा सहभागी नहुन अध्यक्ष केपी शर्मा ओली पक्षले अपिल गरेको छ ।
एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले आज केन्द्रीय कमिटी बैठक नबोलाइएको बताएका छन् । नेता नेपालले आज केन्द्रीय कमिटीको बैठक बोलाएपछि एमालेले आज पार्टीको तर्फबाट बैठक नबोलाइएको स्पष्ट पारेको हो ।

तामाङले निकालेको वक्तव्यमा लेखिएको छ – ‘पटक–पटक एमालेको नामबाट अनधिकृत गतिविधि गर्ने र यस गतिविधिमा सरिक हुने विषय संविधान, प्रचलित कानुन, पार्टी विधान विपरीत हुने भएकाले यस गतिविधिमा नलाग्न पार्टी कार्यकर्ताहरूमा अपिल गर्दछु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७