अझै खुलेन पूर्व–पश्चिम राजमार्ग


१२ भाद्र २०७८, शनिबार

नवलपरासी, १२ भदौं । शुक्रबारदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्ग अझै खुलेको छैन । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाको बडेरा र बनकट्टीमा रहेको डाईभर्सन बाढीले बगाएपछि राजमार्ग अवरुद्ध भएको हो ।

शुक्रबार बिहानै बाढीले ती दुबै डाइभर्सन बगाएपछि भुमहीदेखि सुनवल पुग्ने ६ किलोमिटर दूरीको बाटो अवरुद्ध भएको छ भने सुनवल नगरपालिका–४ स्थित तुरिया पुल पनि क्षति भएपछि सुनवलदेखि खैरेनी पुग्ने बाटो पनि अवरुद्ध छ । पूर्वपश्चिम यात्रा गर्ने यात्री एवं सवारी साधनहरु अहिले जिल्लाको वैकल्पिक बाटो भुमही–भैरहवा बाइपास हुँदै आवतजावत गरिरहेका छन् ।

हिजो दिनभर बाढी डाइभर्सन हुँदै बगेकोले काम हुन नसकेको प्रहरीले जनाएको छ । आज बिहादेखि दाउन्नेको एस मोड र खुर्सानी खोलाको पहिरो पन्छाइएको प्रहरीले जानकारी दिएको छ । त्यस्तै बर्दघाटको लण्डन ब्रिजमा अवरुद्ध भएको बाटो खुलाएर भूमहीसम्म सवारी साधनको आवतजावत सहज बनाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

अब केहिछिनमै सुनवलको बडेरा र बनकट्टीको डाइभर्सन मर्मत गरिने प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए । डिएसपी लामाका अनुसार तुरियाको पुल क्षति भएको र डाइभर्सन बगेकाले सुनवलदेखि भूमहीसम्म राजमार्ग अवरुद्ध छ । पूर्वपश्चिम यात्रा गर्ने सवारी साधनहरु भैहरवा–भुमही बाइपास हुँदै सहजै यात्रा गरिरहेको डिएसपी लामाले बताए । आज साँझसम्म ती दुबै डाइभर्सनहरु मर्मत गरी बाटो खुल्नसक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७