बाढी–पहिरोबाट ११६ जनाको मृत्यु, ४४ बेपत्ता


१९ भाद्र २०७८, शनिबार
badhi 20210701045646

काठमाडौं, १९ भदौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा गएको बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० यता ११६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५३ पुरुष, ३४ महिला, १३ बालक र १६ बालिका रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ । रातिदेखिको भारी वर्षापछि पहिरोमा परेर पर्वतमा मात्रै शुक्रबार ११ जनाको ज्यान गएको छ ।

बाढी पहिरो र डुबानमा परी उक्त अवधिमा १३६ जना घाइते भएका छन् । तीमध्ये ६८ पुरुष, ३७ महिला, २० बालक र ११ बालिका रहेका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादु कुँवरले जानकारी दिए । बाढीपहिरोमा परी ४४ बेपत्ता भएका छन्। उनीहरूको खोजीकार्य जारी छ । बाढीपहिरोमा परेका एक हजार २८९ जनाको विभिन्न ठाउँबाट उद्दार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

बाढीको कारण तीन हजार १८२ घर डुबानमा परेका, ९७८ घर, १६४ गोठ, ६६ पुल, आठ विद्यालय र १५ सरकारी कार्यालयमा क्षति पुगेको छ । एक हजार ३०३ वटा पशु मरेका छन। सो अवधिमा भएका जम्मा एक हजार ३४५ विपद्का घटनाबाट एक हजार २६९ परिवारका छ हजार १११ मानिस विस्थापित भएका छन् । उक्त घटनाबाट प्रभावित स्थानमा भएको क्षति न्यूनीकरण, उद्दार, जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७