देउवाको सन्देश बोकेर मन्त्री कार्की ओली निवासमा, भने, ‘संसद नरोकौं, बजेट पास गरौं’


१ आश्विन २०७८, शुक्रबार
deuwa kp

काठमाडौं, १ असोज । संसदको अवरोध हल गर्ने प्रयास स्वरुप प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग संवाद अगाडि बढाएका छन् ।

आफू प्रधानमन्त्री बनेको दुई महिना बित्दा पनि सरकार विस्तार गर्न नसकेका देउवाले केही समययता प्रतिपक्षीसँग संवाद बढाएका हुन् । देउवाले आफ्नो दूतका रुपमा ओलीलाई भेट्न कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई दुई पटकसम्म बालकोट पठाइसकेका छन् । कार्कीले बालकोट पुगेर ओलीसँग संसदमा रहेको गतिरोध हटाउन आग्रह गरेको बताउँदै आइरहेका छन् ।

सत्तारुढ गठबन्धनबीच खटपट र विवाद बढिरहेका बेला देउवाले प्रमुख प्रतिपक्षीसँग बढाएको संवादलाई अर्थपूर्ण मानिएको छ । कानुनमन्त्री कार्की बिहीबार दिउँसो पनि बालकोट पुगेर ओलीसँग संवाद गरेका छन् । उक्त संवादबारे उनले शुक्रबार विराटनगर पुगेर पत्रकारहरुसँग बोलेका छन् ।

‘संसदमा देखिएको गतिरोध राजनीतिक सहमतिका आधारमा समाधान भएर बजेट कार्यान्वयन हुन्छ’, विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँगलाई उनले भने, ‘त्यसका लागि विपक्षी दलसँग पनि हामीले संवाद थालेका छौं ।’

मन्त्री कार्कीले यही असोज ४ गते बस्ने संसद्को बैठक सञ्चालनका लागि प्रमुख प्रतिपक्ष दलका नेता ओलीसँग बिहीबारै बालकोटमा छलफल भएको बताए । संसद अवरुद्ध भएपछि सरकारले बजेटको प्रतिस्थापन विधेयक पारित गर्न सकेन । भदौ ३० सम्म प्रतिस्थापन विधेयक पास गर्न नसक्दा बिहीबारदेखि नै सरकारी खर्च बन्द भएको छ ।

‘विपक्षी दलसँग पनि छलफल भइरहेको छ’, कार्कीले भने, ‘चालु आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट रोकिँदैन ।’ उनल भेटका क्रममा अत्यावश्यक अध्यादेश पारित गर्न सहयोग गर्न ओलीलाई भनिएको पनि जानकारी कार्कीले दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७