६० वर्षदेखि नेपाल–चीन सीमामा कुनै विवाद छैन : चिनियाँ राजदूत


१९ आश्विन २०७८, मंगलवार

काठमाडौं, १९ असोज । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले दुई देशबीचको सीमा विवादमुक्त रहेको बताएकी छन् । नेपाल र चीनबीच सीमा सन्धि भएको ६० वर्ष पुगेको अवसरमा उनले यस्तो बताएकी हुन् । ‘मित्रवत् छलफलपछि ६० वर्षअघि चीन र नेपालले सीमा सन्धिमा हस्ताक्षर गरेका थिए । त्यसयता हाम्रो सीमा कुनै पनि विवादबाट मुक्त छ र यो मित्रताको बन्धन तथा आपसी फाइदा हुने सहकार्यको सेतु बनेको छ,’ राजदूत होउले ट्वीट गरेकी छन् ।

सरकारले हुम्लामा चीनसँगको सीमा विवाद अध्ययन गर्न बनाएको समितिले असोज १० मा प्रतिवेदन बुझाएको थियो । त्यस लगत्तै गृह मन्त्रालयले सीमा मुद्दा सल्ट्याउन आग्रह गर्दै परराष्ट्रलाई पत्राचार गरेको थियो । यही सन्दर्भमा राजदूत होउले नेपाल–चीन सीमा विवादमुक्त रहेको अभिव्यक्ति दिएकी हुन् ।

गत वर्ष हुम्लाका कांग्रेस सांसदले चीनसँग विवाद रहेको दाबी गरेका थिए । त्यसबेला पनि चिनियाँ दूतावासले कुनै विवाद नरहेको बताएको थियो । त्यसबेला परराष्ट्र मन्त्रालयले पनि चीनसँग सीमा विवाद नरहेको स्पष्टीकरण दिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७