बाढी–पहिरो : पाँचथरमा मृत्तक संख्या २७ पुग्यो, एउटै गाउँपालिकाका २१ जना


३ कार्तिक २०७८, बुधबार
panchthar

पाँचथर, ३ कातिक । पाँचथरमा बाढी पहिरोका कारण ज्यान गुमाउनेको संख्या २७ पुगेको छ । मंगलबार रातिदेखि बुधबार बिहानसम्म मिक्लाजोङ गाउँपालिकामा मात्रै बाढी पहिरो र खोलाले बगााउँदा २१ जनाले ज्यान गुमाएका छन् । पहिरोमा ३ जना बेपत्ता रहेको मिक्लाजोङ गाउँपालिका अध्यक्ष अमर माखिमले जानकारी दिए । उनकाका अनुसार मिक्लाजुङ कुरुम्बा–५ मा मात्रै १५ जनाको मृत्यु भएको छ भने दुई बेपत्ता छन् ।

खोलाले बगााउँदा सोही गाउँपालिकाको वडा नं १ र २ का चार जनाको ज्यान गएको छ भने वडा नं ४ रबिमा खोलाले नै बगााउँदा एक जना बेपत्ता भएका छन् ।

यस्तै वडा नं ७ लिम्मामा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । मंगलबार राति पहिरोमा पर्दा फिदिम–४ मा दुई जना, फाल्गुनन्द गाउँपालिकामा तीन जना र कुम्माय गाउँपालिमा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

जिल्लामा बाढी पहिरोमा परेर ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले बताए । बाढी पहिरोका कारण टेलिफोन र मोबाइल सेवा अवरुद्ध भएकाले पनि क्षतिको विवरण संकलन हुन नसकेको उनको भनाइ छ । बाढी पहिरोले दर्जनौं घर परिवार विस्थापित भएका छन् ।

पहिरोका कारण मेची राजमार्गको इलाम–फिदिम र फिदिम–ताप्लेजुङ तथा पुष्पलाल मध्य पहाडी लोकमार्गको पाँचथर खण्डका दर्जनभन्दा धेरै स्थानमा पहिरो गएको छ । शाखा सडकहरु फिदिम फालौट, जोरपोखरी फिदिम र राँके रवि खण्ड पनि पहिरोले अवरुद्ध भएका छन् । पहिरो पन्छाउन ठाउँ ठाउँमा जेसीभी खटाइए पनि खुलाउन समय लाग्ने बताइएको छ । वर्षात्सँगै विद्युत्, टेलिफोन, इन्टरनेट सेवा अवरुद्ध छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७