प्रधानमन्त्री आज बाढी–पहिरो प्रभावित सुदूरपश्चिम जाँदै


४ कार्तिक २०७८, बिहीबार
deuwa

काठमाडौं, ४ कातिक । प्रधानमन्त्री शेरबहादुर देउवा आज (बिहीबार) बाढी–पहिरो र डुबानले निम्त्याएको क्षति निरीक्षणका लागि गृह प्रदेश सुदूरपश्चिम जाँदैछन् ।

मन्त्री र पूर्वमन्त्रीहरूका साथ प्रधानमन्त्री देउवा बिहीबार बिहान सुदूरपश्चिमका विभिन्न जिल्लामा भएका क्षति निरीक्षणका लागि जान लागेका हुन् । टोलीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, नेपाली कांग्रेसका नेतात्रय एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर हुनेछन् ।

प्रधानमन्त्री देउवासहितको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिले बिहान ८ बजे हेलिकोप्टरमार्फत सुदूरपश्चिम उड्ने छ । काठमाडौंबाट सुर्खेत हुँदै टोली पूर्वमन्त्री बलायरको गृह जिल्ला डोटी जाने प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ । डोटी मन्त्री आलेको पनि गृह जिल्ला हो ।

डोटीमा बाढी पहिरोबाट हुन गएको क्षतिको निरीक्षणपछि उक्त टोली बझाङ हुँदै बैतडीको ढुंगाड जाने बताइएको छ । त्यहाँबाट प्रधानमन्त्री देउवाको गृह जिल्ला डडेल्धुराको अमरगढी नगरपालिका र जोगबुढा नगरपालिका हुँदै टोली पूर्वमन्त्रीद्वय साउद र लेखकको गृह जिल्ला कञ्चनपुर जाने सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीको टोली कञ्चनपुरमा बाढीपहिरो र डुबानले पुर्‍याएको क्षतिको निरीक्षण गरेर बेलुकी सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा बास बस्ने कार्यतालिका छ । कैलाली कांग्रेसले मौसम अनुकूल भए शुक्रबार प्रधानमन्त्री देउवाले कैलारी गाउँपालिका, भजनी नगरपालिका र टीकापुर नगरपालिकाको दक्षिणी भेगको निरीक्षण गर्ने जनाएको छ ।

प्रधानमन्त्री देउवा शुक्रबार संघीय राजधानी काठमाडौं फर्किने छन् । अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी सुदूरपश्चिममा २८ जनाको मृत्यु भएको छ । २२ जना बेपत्ता छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७