बागमती प्रदेशसभाको आजको बैठकमा एमाले उपस्थित नहुने


४ कार्तिक २०७८, बिहीबार
bagmati pradesh

काठमाडौं, ४ कातिक । बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बस्दैछ । दिउँसो १ बजे बैठक बस्न लागेको हो ।
आजको बैठकमा सत्तारुढ नेकपा (एमाले) का सांसद भने उपस्थित नहुने भएका छन् । एमालेको वडा र पालिका अधिवेशनको तयारीमा सांसदहरू व्यस्त हुने भएकाले प्रदेशसभा बैठकमा आफ्ना सांसद उपस्थित हुन नसक्ने एमालेले जनाएको छ ।

आजको बैठक कात्तिक ११ गतेका लागि सार्न माग गर्दै एमालेले बुधबार नै प्रदेशसभा सचिवालयमा लिखित रूपमा पत्र समेत दर्ता गराइसकेको छ । एमाले बागमती प्रदेशका प्रमुख सचेतक दीपक निरौलाले पार्टीको वडा र पालिका अधिवेशन सम्पन्न गर्नुपर्ने भएकाले प्रदेशसभा बैठक सार्न सभामुख समक्ष लिखित आग्रह गरेका हुन् ।

आजको लागि आह्वान गरिएको प्रदेशसभा बैठक स्थगित गर्नेबारे प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अहिलेसम्म कुनै निर्णय गरेका छैनन् । बागमती प्रदेशसभामा सत्तारुढ एमाले स्पष्ट रुपमा अल्पमतमा परिसकेको छ । एमालेले बैठक रोकेर केही दिन भएपनि सत्ता जोगाउन खोजेको आरोप विपक्षी दलले लगाएका छन् ।

बिगतमा बागमती प्रदेशसभामा एमालेका ५६ जना सांसद थिए । एमालेको विभाजनपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परिसकेकी छन् । एमाले विभाजनपछि मुख्यमन्त्री शाक्यलाई ४३ जना सांसदको मात्रै समर्थन छ । नेकपा एमालेका १३ सांसदले नेकपा एकीकृत समाजवादी रोजेपछि एमाले ४३ सांसदमा खुम्चिएको हो ।

बागमती प्रदेशसभामा हाल १०९ जना प्रदेशसभा सदस्यहरू मध्ये प्रदेश सरकार टिकाउन वा गठनको लागि ५५ सांसदको साथ आवश्यकता पर्दछ । प्रदेशसभामा विपक्षी गठबन्धनसँग भने स्पष्ट रुपमा बहुमत छ ।

हाल प्रदेशसभामा माओवादी केन्द्रका २३ जना सांसद छन् । त्यसैगरी २२ जना नेपाली काँग्रेस, एकीकृत समाजवादीका १३, ३ जना विवेकशील साझा, २ जना नेमकिपा, २ जना राप्रपा र १ जना जसपाका सांसद छन् । यसले बागमती प्रदेशमा विपक्षी गठबन्धनको सरकार बन्ने निश्चित प्रायः छ । केन्द्रमा सत्तारुढ गठबन्धनले बागमती प्रदेश सरकारको नेतृत्व एकीकृत समाजवादीलाई दिने सहमती गरिसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७