चार पटकको लिगकप विजेता सिटी बाहिरियो


११ कार्तिक २०७८, बिहीबार
city1635385578

काठमाडौं, ११ कात्तिक । इङ्लिस लिग कपमा प्रिमियर लिगको क्लब म्यानचेस्टर सिटीको दबदबा गए राति समाप्त भएको छ । चार पटकको उपाधि विजेता सिटी अन्तिम १६ मा वेष्ट ह्याम युनाइटेडसँग पेनाल्टी सुटआउटमा ५–३ ले हारेको हो ।

लण्डन रंगशालामा निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको हो । पेनाल्टी सुटआउटमा सिटीबाट पहिलो प्रहार गरेका फिल फोडानको हानेको बल बाहिरिएको थियो । त्यसअघि घरेलु टोली वेष्ट ह्यामका मार्क नोबलेले गोल गरिसकेका थिए । वेष्टका लागि नोबलेबाहेक जारोड बोवेन, क्राइग डसन, एरोन क्रसवेल र सेड बेनराहमले गोल गरे । सिटीका जाओ कान्सेलो, गाब्रियल जिसस र ज्याक ग्रालिसले गोल गरेका थिए ।

पाँच वर्षअघि सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडसँग अन्तिम १६ मा पराजित भएपछि सिटी लिग कपमा हारेको यो पहिलो पटक हो । २०१७-१८ पछि पेप ग्वार्डिओलाको सिटीले प्रत्येक सिजन लिग कपको उपाधि उचालेको थियो । पछिल्लो आठ संस्करणमा सिटीले ६ पटक उपाधि जितेको छ ।

‘‘कुनै पनि कुरा अनन्तसम्म हुँदैन’, सिटीका प्रशिक्षक ग्वार्डिओलाले भने, ‘यो प्रतियोगिता जित्नका लागि हामीले अन्तिमसम्म लड्यौं । तर आज त्यो यात्रा समाप्त भयो । अर्को सिजन हामी पुनः जित्नका लागि आउनेछौं ।’

वेष्ट ह्यामले यसअघि ओल्ड ट्राफोर्डमा म्यानचेस्टर युनाइटेडलाई १–० ले हराउँदै अन्तिम १६ मा स्थान बनाएको थियो । ‘हामीले प्रिमियर लिग उपाधिका लागि प्रतिस्पर्धा गरिरहेको सिटीको दोस्रो रोजाईको टिमलाई हरायौं’, वेष्ट ह्यामका कप्तान नोबलेले भने, ‘हामी प्रतियोगिताको अन्तिम आठमा स्थान बनाउन सफल भएका छौं । क्लबका लागि यो विशेष क्षण हो ।’

सिटीले गोलकिपर इडर्सन, रुबेन डियाज, बर्नान्डो सिल्भालाई आराम दिएको थियो । तथापि केभिन डी ब्रुयना, इल्के गुन्डोगन र रहिम स्टर्लिङलाई पहिलो रोजाइमा खेलाएको थियो । फोडान, ग्रालिस भने बेञ्चमा थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७