दीपक मनाङेको सम्पत्ति : २२ तोला सुन, ६ करोड ऋण, छैन घर


१६ कार्तिक २०७८, मंगलवार
deepak manage

पोखरा, १६ कात्तिक । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मन्त्री भएको पाँच महिनापछि उनले सम्पत्ति विवरण सार्वजनिक गर्दै आफू ऋणमा रहेको उल्लेख गरेका छन् ।

मन्त्री मनाङेले आफूसँग २२ तोला सुन, ४५ तोला चाँदी र मुगाको माला ८३ तोला रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । उनले सुन वैदेशिक रोजगारी र व्यापार व्यवसायबाट कमाएको उल्लेख गरेका छन् भने मुगा पैतृक सम्पत्तिका रुपमा रहेको जनाएका छन् ।

मन्त्री मनाङेले सांसद र मन्त्री हुँदा प्राप्त गरेको १० लाख ४९ हजार ५३६ रुपैयाँ एभरेष्ट बैंक पोखरामा मौज्दात रहेको उल्लेख गरेका छन् । उनले आफूसँग कुनै पनि सवारी साधन र घर नभएको सम्पत्ति विवरणमा जनाएका छन् । मन्त्री मनाङेले संघर्ष गाईभैंसी प्रालि नामक आफ्नो फार्ममा २० वटा भैंसी र पाँच वटा गाई रहेको जनाएका छन् । मनाङेले प्रकाश, कृष्ण र श्याम महर्जनको नाममा काठमाडौं–२९ धर्मस्थलीमा कित्ता नम्बर २४, ६७, ७६ को जग्गा प्रतिआना ९ लाख रुपैयाँमा किनेको उल्लेख गरेका छन् ।

यस्तै उनले मालती महतारासँगको संयुक्त लगानीमा चन्द्रागिरि–२ मा ३ रोपनी जग्गा रहेको उल्लेख गरेका छन् । मकवानपुर, पदमपोखरीमा १ रोपनी ९ आना १० दाम संयुक्त जग्गामध्ये छोराको नाममा १५ आना जग्गा रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ । त्यस्तै उनले कर्म गुरुङसँग ४० लाख, रमेश रानासँग ४० लाख, मनाङ फलफूल सप्लायर्ससँग ६० लाख, टीका भण्डारीसँग २ करोड ३५ लाख, टासी गुरुङसँग २ करोड ३५ लाखसहित कूल ६ करोड १० लाख रुपैयाँ ऋण भएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७