रवीन्द्र मिश्रलाई प्रकाशमानको प्रश्न : त्यति सानो पार्टी पनि जोगाउन नसक्नेले ठूला कुरा गर्ने ?


१९ कार्तिक २०७८, शुक्रबार
prakashman rabindra 6ssyvppibC

काठमाठौं, १९ कात्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशको विकासका लागि कांग्रेसको विकल्प नरहेको दावी गरेका छन् । शुक्रबार नेपाल संवतका अवसरमा बुद्धनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेता सिंहले नेपालका कम्युनिष्ट पार्टीहरुले जनतामा भ्रम मात्रै सिर्जना गरेको भन्दै कांग्रेस मात्रै भरोसा गर्ने पार्टी भएको बताए ।

‘पहिलो संविधानसभामा चार जना कम्युनिष्ट प्रधानमन्त्री बने तर संविधान बनाउन सकेनन् । दोस्रो संविधानसभामा काँग्रेसको सरकार बन्यो । संविधान पनि बन्यो। दुई तिहाईको कम्युनिष्ट सरकार बन्यो तर काम गर्न सक्यो त ?’ नेता सिंहको प्रश्न छ ।

भ्रम फैलाउने प्रतियोगिता भए एमाले अध्यक्ष केपी शर्मा ओलीले ओलम्पिक नै जित्ने भन्दै सिंहले कटाक्ष गरे । ‘कम्युनिष्टहरुले जनतामा भ्रम फैलाएर भोट माग्छन् । भ्रम फैलाउने प्रतियोगिता भए ओलम्पिक जित्छन् ओलीले । संसार भरमै यति झुटो र भ्रम फैलाउने काममा नेपालका कम्युनिष्टहरुले मात्रै सक्छन्,’ उनले भने ।

यस्तै नेता सिंहले काम गर्न सक्ने नेता र पार्टीलाई मतदाताले जिताउनु पर्नेमा जोड दिए । उनले काम नगर्ने तर लोकप्रिय नारा दिएर मतदातालाई प्रभावित गर्ने काम भइरहेको टिप्पणी गरे । नेता सिंहले नयाँ नारा मात्रै दिएर राजनीति सम्भव नहुने बताए । ‘मेरो निर्वाचन क्षेत्रलाई एलिटहरु बस्ने ठाउँ भन्छन् । पढे लेखेका मतदाता छन् । चुनावका बेलामा नयाँ नयाँ पार्टीहरू आउँछन् । काम केही गरेको हुँदैन तर नयाँ र आकर्षक नारा दिएर मतदाता प्रभावित हुने अवस्था छ,’ उनले भने ।

०७४ को चुनावमा आफूसँग प्रतिस्पर्धा गरेका विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले आफ्नै पार्टी जोगाउन नसकेको भन्दै ठूला कुरा गर्नुको अर्थ नरहेको बताए । ‘विवेकशील साझा) पार्टी सानो छ, तर पटक पटक विभाजित भएको छ । आफ्नै पार्टी जोगाउन नसक्ने तर ठूला कुरा गर्ने ? यिनीहरुको काम छैन भन्ने कुराको पर्दाफास भएको छ ।’

उनले जनतालाई विश्वास दिलाउन सक्ने व्यक्ति मात्रै नेता हुने बताए । ‘पोलिटिक्सको ‘पी’ पनि नजान्ने तर नयाँ नारा दिनेहरुबाट जोगिनुपर्छ । जनतालाई विश्वासमा दिलाउनु पर्‍यो । गफ गरेर मात्रै हुँदैन । काम गर्नुपर्‍यो । काम गर्न सजिलो छ र ? नेता सिंहले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७