ह्यारी केनको ह्याट्रिकमा इङ्ल्याड विश्वकप छनोट नजिक


२७ कार्तिक २०७८, शनिबार
ken1636773676

काठमाडौं, २७ कात्तिक । ह्यारी केनको ह्याट्रिकप्रेरित इङ्ल्याण्डले शनिबार राति विश्वकप छनोटमा अल्बानियामाथि ५–० विजय हासिल गरेको छ । जितसँगै इङ्ल्याण्ड कतार विश्वकप नजिक पुगेको छ ।

इङ्ल्याण्डले अब समूहको अन्तिम खेलमा सन मारिनोविरुद्ध बराबरी गरेमात्र पुग्छ । इङ्ल्याण्डले अब सोमबार सन मारिनोको भ्रमण गर्नेछ । जितपछि इङ्ल्याण्ड २३ अंकका साथ शीर्ष स्थानमा छ । जुन दोस्रो स्थानको पोल्याण्डभन्दा तीन अंकले माथि हो । पोल्याण्डले अब अन्तिम खेल हंगेरीविरुद्ध खेल्नेछ ।

पोल्याण्डले सिधै विश्वकपमा स्थान बनाउन जितेर मात्र पुग्दैन । इङ्ल्याण्ड हार्नु पर्छ र आफैले पनि फराकिलो अन्तरमा जित निकाल्नु पर्छ । तर, तुलनात्मक रुपमा कमजोर सन मारिनोविरुद्ध इङ्ल्याण्ड हार्ने सम्भावना एकदमै कम छ । त्यसकारण समूह ‘आई’ बाट इङ्ल्याण्ड विश्वकपमा छनोट हुने लगभग पक्का जस्तै भएको छ ।

लण्डनस्थित वेम्बली रंगशालामा इङ्ल्याण्डले ह्यारी म्यागुएरको गोलबाट अग्रता लिएको थियो । १८औं मिनेटमा केनले अग्रता दोब्बर बनाए । २८औं मिनेटमा जोर्डन हेन्डरसनले तेस्रो गोल थपे । ३३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका केनले पहिलो हाफको इन्जुरी समयमा अर्को गोल थप्दै ह्याट्रिक गरे । पहिलो हाफमा गरेको पाँच गोल नै इङ्ल्याण्डको जितमा पर्याप्त बन्यो ।

यससँगै केनले इङ्ल्याण्डका लागि ४४ गोल गरेका छन् । जुन वायन रुनीको भन्दा ९ गोलले पछाडि हो । तथापि टोटनहमका केन क्लबमा भने गोल गर्न संघर्षरत छन् । ‘‘आज अविश्सनीय प्रदर्शन रह्यो’, इङ्ल्याण्डका केनले भने, ‘हामीमाथि जित्नुपर्ने केही दबाब त थियो । आजको नतिजाबाट हामी विश्वकप नजिक पुगेका छौं ।’

वेम्बलीमा ८० हजारभन्दा धेरै दर्शन उपस्थित थिए । वेम्बली त्यही रंगशाला हो जहाँ इङ्ल्याण्ड युरोपियन च्याम्पियनसिपको फाइनलमा इटालीसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो । समूह ‘आई’ कै अर्को खेलमा पोल्याण्डले दश खेलाडीमा सीमित एन्डोरालाई ४–१ ले हरायो । पोल्याण्डका लागि रोबर्ट लेवनडोवस्कीले दुई गोल गरे । रिकार्ड फर्नान्डेजले पहिलो मिनेटमै रातो कार्डको सामना गरेपछि एन्डोरा दश खेलाडीमा सीमित बनेको थियो । पोल्याण्डका लागि अरु गोल कामिल जोविक र आर्कडिउज मिलिकले गरे । एन्डोराका मार्क भालेसले गोल गरे । समूह ‘आई’ कै अर्को खेलमा हंगेरीले सन मरिनोलाई ४–० ले हरायो ।

डनेमार्क र अष्ट्रिया विजयी

यसअघि नै विश्वकपमा स्थान पक्का गरिसकेको डेनमार्कले समूह ‘एफ’ मा सतप्रतिशत नतिजा निकाल्ने क्रममा गएराति फारोइ आइसल्यान्डलाई ३–१ ले हराएको छ । डेनमार्कको जितमा आन्द्रेस स्कोभ ओल्सन, जाकोब ब्रुन लार्सन र जोकिम माचलेले गोल गरे । फारोइ आइसल्याण्डका क्लामिन्ट ओल्सेनले गोल गरे ।

जितपछि डेनमार्कले ९ खेलबाट २७ अंक जोडेको छ । जुन दोस्रो स्थानको स्कटल्याण्ड भन्दा सात अंकले माथि हो । स्कटल्याण्डले माल्डोभालाई २–० ले हरायो । तेस्रो स्थानमा रहेको इजरायल गए राति अष्ट्रियासँग ४–२ ले पराजित भयो । अष्ट्रिया र इजरायलको समान १३ अंक छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७