एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि


७ मंसिर २०७८, मंगलवार
girirajmani pokharel

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन् ।

पूर्वमन्त्री समेत रहेका पोखरेलले सोमबार सिरहाको गोलबजारमा माओवादी केन्द्रको वडा अधिवेशन उद्घाटन गर्दै नेपालको हितमा हुनेगरी संशोधन नभएसम्म एमसीसी पास नहुने बताए । ‘नेपालको अहितमा रहेका कतिपय बुँदा परिमार्जन भएपछि मात्रै एमसीसी पारित गर्ने माओवादी केन्द्रको स्पष्ट नीति छ,’ उनले भने ।

केपी शर्मा ओलीले मुलुकलाई निरंकुशतातर्फ लैजान खोजेपछि उनलाई सत्ताच्युत गरिएको पोखरेलले बताए । ‘केपी ओलीलाई निरन्तर पाँच वर्ष सत्तामा रहन दिएको अवस्थामा निरंकुशता लाद्ने निश्चित थियो,’ पोखरेलले भने, ‘तीन वर्ष सत्तामा रहँदा ओलीले देखाएका व्यवहारले नै यसको पुष्टि हुन्छ ।’

केपी ओलीले विघटन गरेको प्रतिनिधिसभा पुनर्स्थापनापछि राजनीति फेरि लिकमा आएको उनले बताए । ओलीको बोली र व्यवहारमा धेरै भिन्नता रहेको जिकिर गर्दै पोखरेलले भने, ‘जनता सामु एउटा कुरा गर्ने, बालुवाटारमा ‘रअ’ का प्रमुखसँग बसेर अरुनै काम गरे। जुन मुलुकको हितमा थिएन ।’ कार्यक्रममा विभिन्न दलबाट ४५० भन्दा बढी नेता, कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गरेका माओवादी केन्द्रले जनाएको छ । नव प्रवेशीहरुलाई नेता पोखरेलले अबिर र माला लगाएर स्वागत गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७