एमाले महाधिवेशन : ओलीलाई आफ्नै नेता मिलाउन सकस, रावल अध्यक्षमा भोट माग्दै

भीम रावलको पर्चा बाँड्न रोक


१२ मंसिर २०७८, आईतवार
uml bandasatra 19 GcIgZnMk4Y

चितवन, १२ मंसिर । नेकपा (एमाले) को जारी १० औं राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो दिनको बन्द सत्र शुरु हुन ढिलाइ भएको छ । आज बिहान १० बजेदेखि हुने भनिएको बन्द सत्र साढे ११ बजेसम्म शुरु हुन सकेको छैन ।

प्रतिनिधिहरू खाना खाने क्रममा छन् । खाना खानेलगायत काम र नेताहरू सहमतिका लागि छलफलमा रहेकाले अझै केही समय ढिलाइ हुन सक्ने केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी दिएका छन् । अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरू सर्वसम्मत रूपमा नेतृत्व चयनका लागि छलफलमा छन् । हिजो पहिलो दिनको बन्द सत्रमा ओलीलाई पदाधिकारी र केन्द्रीय सदस्य प्रस्ताव गर्ने अधिकार दिइएको थियो । तर, अध्यक्षका आकांक्षी भीम रावल उमेदवारीबाट पछि नहट्ने अडानमा छन् ।

अध्यक्ष ओलीलाई भीम रावल मात्र होइन आफ्नै नेता व्यवस्थापन गर्न सकस परेको छ । जसका कारण एमालेको नयाँ नेतृत्व निर्विरोध रुपमा चयन गर्न हम्मे परेको छ । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र सुवास नेम्वाङले दाबी छाडेका छैनन् । अर्कातिर महासचिवमा विष्णु पौडेल र शंकर पोखरेलले दाबी गरिरहेका छन् । यी चारै जना नेता ओली निकट हुन् । अर्कातिर सचिवमा पनि ओली निकटकै गोकुल बाँस्कोटा र महेश बस्नेतले दाबी गरिरहेका छन् । उनीहरु दुवै जना पहिलो पटक पदाधिकारीमा उक्लिने लविङमा छन् ।

ओलीले आफू बसेको पार्क सफारी रिसोर्टमा सबै दाबेदारलाई बोलाएर सहमति गराउन प्रयास गरे पनि अहिलेसम्म कोही आफ्नो अडानबाट पछि हटेका छैनन् । ओली आफ्नै समूह मिलाउन रस्साकस्सीमा लागिरहँदा उपाध्यक्ष रावलसँगको संवाद पनि अघि बढ्न सकेको छैन ।
नेताहरूका अनुसार ओली सर्वसम्मत नेतृत्व चयनको घोषणा गर्ने पक्षमा छन् । उनले नाम तयार पार्ने प्रयास पनि गरिरहेका पनि छन् । तर ओलीले तयार पारेको सूचीमा पनि उनी निकट नेताहरुले असहमति जनाएका छन् ।

सहमति खोज्न ओलीले बन्द सत्र हलमा नगई निरन्तर छलफल गरिरहेका छन् । उता ओलीविरुद्ध अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका भीम रावलले चुनावी प्रचारलाई तीव्र बनाएका छन् । उनले बन्द सत्रस्थल सेभेनस्टार होटलमा भेला भएका महाधिवेशन प्रतिनिधिसँग बिहानैदेखि भोट मागिरहेका छन् । शनिबार पहिलो दिनको बन्द सत्रले पदाधिकारी र केन्द्रीय सदस्य चुन्ने सर्वाधिकार ओलीलाई दिएको थियो ।

संगठन विभाग प्रमुख विष्णु पौडेलको प्रस्तावमा बन्द सत्र हलले उक्त अधिकार दिएकोमा उपाध्यक्ष रावलले आपत्ति प्रकट गरेका छन् । जनताको बहुदलीय जनवाद स्वीकारेको दलले निर्वाचन प्रक्रियालाई लत्याउन नहुने बताउँदै रावलले आफू कुनै हालतमा पछि नहट्ने बताएका थिए । अर्कातिर ओलीलाई सबै अधिकार दिएकोमा उपमहासचिव घनश्याम भुसालले पनि सार्वजनिक असन्तुष्टि जनाएका छन् ।

भीम रावलको पर्चा बाँड्न रोक
नेकपा (एमाले) को जारी महाधिवेशनमा अध्यक्षका आकांक्षी भीम रावलको पर्चा बाँड्न रोक लगाइएको छ । आइतबार बिहान चितवनको सौराहास्थित बन्द सत्र हल बाहिर केही कार्यकर्ताले उनको पर्चा बाँडिरहेका थिए । तर, पार्टीका स्वंयसेवकहरूले पर्चा बाँड्न रोक लगाएका हुन् ।

amkfdkdmg1638077315

पर्चामा रावलको तस्बिरसहित ‘अध्यक्ष पदमा मेरो उम्मेदवारी किन ?’ लगायत लेखिएको छ । रावल आफैले भने पर्चा बाँडेका होइनन् । कार्यकर्ताले पर्चा बाँडिरहँदा उनी त्यहाँ थिएनन् । एमालेको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गर्ने प्रयास जारी छ । रावलले भने अध्यक्षमा उमेदवारी दिने र पछि नहड्ने अडान कायम राखेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७