प्रतिनिधिहरु भन्छन् : घनश्याम भुसाल बाहिर राखेर पदाधिकारी टिम घोषणा गरिनु बिडम्बनापूर्ण


१३ मंसिर २०७८, सोमबार
Ghanshyam bhusal

काठमाडौं, १३ मंसिर : आइतबार राती नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष मण्डलको हैसियतमा १९ सदस्यीय पदाधिकारी टिमको घोषणा गरे ।

ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा भने शंकर पोखरेलको नाम प्रस्ताव गरे । उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, विष्णु पौडेल र सुवास नेम्वाङलाई प्रस्ताव गरे ।

उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको नाम प्रस्ताव गरे । सचिवमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लेखराज भट्ट, पद्मा अर्याल र रघुवीर महासेठको नाम प्रस्ताव गरे ।

जम्बो पदाधिकारी टिम घोषणा गरीराख्दा उपाध्यक्षमा रुची देखाएका उपमहासचिव घनश्याम भुसालको नाम भने ओलीले समेटेनन् । आफूसँग अध्यक्षको प्रतिस्पर्धामा उत्रिएका भिम रावललाई समावेश गर्ने अवस्था त भएन । किनभने उनी रावल आफै अध्यक्षको प्रतिस्पर्धा छन् ।

तर उपाध्यक्षको मात्रै रुची देखाएको उपमहासचिव भुसाललाई बाहिर राख्न खोजिएपछि ओली निकट नेता र प्रतिनिधिहरु नै असन्तुष्ट देखिएका छन् ।

ओली निकट नेताले नयाँ पेजसँग भने, ‘पार्टी संकटमा छ । यो बेला सबै खालका मनोविज्ञानहरुलाई समेटेर लैजान जरुरी छ । घनश्याम भुसाल जस्तो वैचारिक नेतालाई बाहिरै राखेर दिन खोजिएको सन्देश को हो ? हामीले पनि बुझेका छैनौं ।’

पार्टी निर्माणमा वैचारिक नेतृत्व गरीरहेका नेतालाई बाहिर राख्न गलत भएको ओली निकट अर्का केन्द्रीय कमिटी सदस्यको भनाई । ती सदस्य भन्छन्, ‘घनश्यामक कमरेडेले उपाध्यक्ष बसेर काम गर्छु भन्ने अन्याथा होइन । उपाध्यक्ष समेत नदिनु यो विवेकपूर्ण निर्णय मान्न सकिन्न ।’

जसको विचार, उसैलाई बाहिर राख्ने प्रयास

आज भन्दा ८ वर्ष अघि अर्थात् २०७१ असार १९ देखि साउन १ । उतिबेला नेकपा (एमाले)को नवौँ राष्ट्रिय महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको थियो । महाधिवेशनको नारा थियो, ‘शान्तिपूर्ण जनक्रान्तिका उपलब्धिहरूलाई संस्थागत गरौँ, जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल निर्माण गरौँ ।’ नवौँ राष्ट्रिय महाधिवेशनको रापताप फरक थियो । महाधिवेशन अगावै अनेकौं सभा, गोष्ठी र कार्यक्रम भएका थिए । ती कार्यक्रमहरु मुलत नेतृत्व भन्दा पनि नीति अर्थात् विचारको बहसमा केन्द्रीत थियो ।

एमालेमा खासगरी नेपाली समाजको चरित्र र नेपालको सार्वभौमसत्ताको अवस्थालाई हेर्ने दृष्टिकोणको बिषयमा चर्को विवाद थियो । त्यो बेलासम्म नेपाली समाज अर्धसमान्ती र नेपालको सार्वभौमसत्ताको अवस्था ‘अर्धउपनिवेशी’ रहेको एमालेको व्याख्या थियो । तर घनश्याम भुसालको बिश्लेषण थियो, ‘नेपाली समाज अर्धसमान्ती रहेन । नेपालको सार्वभौमसत्ताको अवस्था ‘अर्धउपनिवेशी’ होइन ।’

तिव्र बहसपछि नवौँ राष्ट्रिय महाधिवेशनबाट भुसालको विचार पारित भयो । नेपाली समाजको चत्रिको बिषयमा एमालेले भन्यो, ‘यसरी नेपाली समाजमा सामन्तवाद मूलभूतरूपमा बिघटित भएको छ । नेपाली समाज प्रारम्भिक प्रकारको पूँजीवादी समाजमा रूपान्तरित भएको छ ।’
१९५० को ‘शान्ति र मैत्री सन्धि’ मार्फत् नेपाललाई भारतीय सुरक्षा छाताको मातहत राख्ने जस्ता कामहरूले निरन्तरता पाए ।

यिनै पृष्ठभूमिमा, नेपालको सार्वभौमसत्ता र स्वाधीनता खण्डित भएको निष्कर्षका साथ नेपाल कम्युनिष्ट पार्टीले नेपाल ‘अर्धऔपनिवेशिक’ अवस्थामा रहेको विश्लेषण गर्दै आएको थियो । तर भुसालको विचारलाई पारित गर्दै नवौं महाधिवेशनले भन्यो, ‘लामो सङ्घर्ष, आन्दोलन र क्रान्तिको शृङ्खलापश्चात् हामी नेपालीहरू आफ्नो संविधान आफै निर्माण गर्ने ऐतिहासिक बिन्दुमा आइपुगेका छौं । कस्तो राजनीतिक प्रणाली, राज्य संरचना र सामाजिक–आर्थिक नीतिहरू अवलम्बन गर्नेभन्ने औपचारिक निर्णय हामी आफैले गर्दैछौं । यसरी एउटा सम्प्रभु राष्ट्रका रूपमा आफ्नो सार्वभौम अधिकार प्रयोग गर्दै गइरहेको बेला नेपाललाई ‘अर्धउपनिवेशी’ भन्ने शब्दले संबोधन गर्नु उपयुक्त हुँदैन ।’

नवौँ राष्ट्रिय महाधिवेशन भुसालको लागि सुखद रह्यो । किनभने उनको विचार र कार्यदिशा पारित भयो । नेतृत्वको हिसाबले पनि उनी उपमहासचिवमा विजयी भए । भुसालको व्याख्या अनुसार नवौं महाधिवेशनले भन्यो, ‘नेपाली समाजको चरित्र नौलो जनवाद र जबजकालीन अर्धसामन्ती, अर्ध औपनिवेशिक रहेन, अब यो पुँजीवादी समाज हो र यसको मूल चरित्र दलाल पुँजीवादी हो ।’ २०६२ र ६३ को जनक्रान्तिलाई कसरी हेर्ने भन्ने सैद्धान्तिक बहसमा पनि उनको विचार पारित भयो ।

उनको सैद्धान्तिक निष्कर्ष थियो, ‘नेपाली समाज पुँजीवादी भएको, जनवादी क्रान्ति सम्पन्न भैसकेको, त्यसैले नेपाली क्रान्तिले समाजवादको बाटो लिएको तर पुँजीवादको मुख्य चरित्र दलाल रहेको हुँदा राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्नु नेपाली कम्युनिष्टहरुको ऐतिहासिक कार्यभार हो ।’ यही निष्कर्ष एमालेको निष्कर्ष भयो ।

तर नवौं महाधिवेशनमा दुईवटा अलग–अलग प्यानलसहित निर्वाचन भयो । भुसाल समूहका अध्यक्षको उम्मेदवार माधवकुमार ५७ मतको अन्तरले केपी शर्मा ओली पराजित भए । नवौँ राष्ट्रिय महाधिवेशनमा भुसालको विचार पारित भए पनि फरक समूहका नेता अध्यक्षमा निर्वाचित भएपछि नवौं महाधिवेशन यता भुसालको एमाले जीवन सुखद रहेन । एक हिसाबले उनी एमालेको फड्के किनाराको साक्षी मात्रै भए । तर आफ्नो विचार राख्न भने भुसालले छोडेनन् । भुसाल बोली रहे । लेखीरहे ।

भुसालले दलाल पुँजीवादविरूद्ध संघर्ष गर्दै राष्ट्रिय पुँजीको विकास गर्ने र समाजवादको आधार तयार गर्नका लागि त्यस अनुरुपका कार्यक्रम र संगठन निर्माणमा उनले जोड दिइरहे । तर उनको आवाज पार्टीको मुलधारले सुनेन ।

एमालेको नवौं महाधिवेशनको निष्कर्षका आधारमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता सम्भव भयो । तर त्यस कार्यभारलाई कार्यक्रमको रुपमा व्याख्या गर्न नसक्दा हाम्रो कम्युनिष्ट आन्दोलन सैद्धान्तिक रुपले नवौँ महाधिवेशनभन्दा अघि बढ्न नसकेको उनले दलिल पेश गर्दै आएका छन् ।

भुसाल भन्छन् : कार्यकर्ताले विवेक प्रयोग गर्छन्
यता भूसालले नेतृत्वले गल्ती गर्दा कार्यकर्ताले सच्चाउने बताएका छन् । कार्यकर्ताको विवेकको मतले आफूले जित्ने ग्यारेन्टी रहेको उनको दाबी छ ।

नेकपा (एमाले) भित्र सिद्धान्त ज्युँदो छ भन्ने सन्देश दिन भनेर आफूले उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताए । सौरहामा सोमबार बिहान उम्मेदवारी दर्ता गराएपछि पत्रकार सम्मेलन गर्दै भूसालले भने, ‘पार्टीभित्र सिद्धान्त ज्युँदो छ, पार्टीभित्र माक्र्सवाद ज्युँदो छ, विचार ज्युँदो छ भन्ने कुराको सशक्त हस्तक्षेप जरुरी छ भनेर मैले उपाध्यक्षमा उम्मेदवारी दिएको छु ।’

कहीँ पार्टीले गल्ती गरिहाल्यो भने पार्टीलाई सुधार्ने पनि कार्यकर्ताको लामो परम्परा रहेको उनले बताए । भने, ‘त्यो परम्परा नै मैले जित्ने कुराको ग्यारेन्टी हो ।’

पार्टीमा गल्तीहरु हुँदै आएको र गल्तीका अरु सम्भावनाहरु पनि रहेको भन्दै नेता भूसालले त्यसलाई रोक्न पनि आफ्नो उम्मेदवारी जरुरी रहेको तर्क गरे ।

भुसालले भनेका छन्, ‘पार्टीमा गल्तीका प्रशस्त सम्भावनाहरु छन् । अहिले पनि गल्ती हुँदै छ । एउटा एकीकृत पार्टी किन फुट्यो । त्यसबारेमा हामी बेखबर भएर हिँडेका छौं । त्यत्रो संसारमा हामीले एउटा मोडल देखाउन सक्ने त्यो सम्भावना कसरी बिगार्यौं । आफ्नो पार्टी किन टिकाउन सकेनौं, आफ्नै पार्टी किन टिकाउन सकेनौं भन्दाखेरि तिमीहरुले नै किन भत्कायौ भन्न सकिन्छ । तर त्यो स्थिति नै किन आयो भन्ने बारेमा हामीले बेखबर भएर आँखा बन्द गरेर हिंड्दैछौं यसले हामीलाई, हाम्रो लोकतन्त्रलाई, कम्युनिष्ट पार्टीका सम्भावनालाई धेरै डरलाग्दा खतराहरुतर्फ सोझ्याउने वाला छ । त्यसले गर्दा पनि मेरो उम्मेदवारी जरुरी छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७