बसमा रगत लतपतिएको थियो, चार सय मिटर पर भेटियो सहचालकको शव


२२ मंसिर २०७८, बुधबार
death

नुवाकोट, २२ मंसिर । नुवाकोटको पञ्चकन्या गाउँपालिका-३ राहुटारका सुमन थापाको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

गए राति उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । तर, प्रहरीले पक्राउ पर्नेलाई सार्वजानिक भने गरेको छैन । आरोपीहरु पक्राउ गरेसँगै थापाको शव परीक्षण (मोस्टमार्टम) का लागि त्रिशूली अस्पतलामा लगिएको छ । बा २ ख ६५८७ नम्बरको बसमा सहचालकका रूपमा कार्यरत २० वर्षीय थापाको सोमबार राति नुवाकोटको शिवपुरी गाउँपालिका-१ तलाखुमा शव भेट्टिएको थियो । थापाको हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गर्न माग गर्दैै पीडित परिवारले मङ्गलबार दिनभर घटनास्थलमा विरोध प्रदर्शन गरेका थिए ।

पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । खड्काका अनुसार थापा कार्यरत बसमा रगत लत्पतिएको पाइएको छ । त्यसभन्दा करिब ४०० मिटर टाढाको दूरीमा शव भेटिएको थियो । पक्राउ पर्नेमा बसका चालक समेत छन् । चार जनालाई प्रहरीले पक्राउ गरेर कारबाहीका लागि अनुसन्धान सुरु गरेसँगै पीडित परिवारले विरोधका कार्यक्रम स्थगन गरेका छन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७