च्याम्पियन्स लिग : बार्सिलोना समूह चरणबाटै बाहिरियो


२३ मंसिर २०७८, बिहीबार
barcelona vs baryion hlf5lO19J6

काठमाडौं, २३ मंसिर । बार्सिलोना च्याम्पियन्स लिग फुटबलको समूह चरणबाटै बाहिरिएको छ । समूह ‘ई’ मा जित्नै पर्ने खेलमा बार्सिलोना बायर्नसँग ३-० ले पराजित भयो । अर्को खेलमा बेन्फिकाले जित निकालेपछि बार्सिलोना समूह चरणबाटै बाहिरिएको हो । बायर्नको घरेलु मैदान एलिउन्ज एरिनामा आज बिहान भएको खेलमा बार्सिलोना पराजित भएको हो ।

बायर्नको जितमा थोमस मुलर, लरे साने र जमल मुसिएलाले एक/एक गोल गरे । पहिलो हाफमा दुई गोलले पछाडि परेको बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल खायो । मुलरले खेलको ३४ औँ मिनेटमा गोल गरेपछि बायर्नले अग्रता बनाएको थियो ।

बायर्नका लागि खेलको ४३ औँ मिनेटमा सानेले गोल थपे । त्यस्तै खेलको ६२ औँ मिनेटमा मुसिएलाले गोल गरे । यसअघि नै नकआउट चरणमा पुगेको बायर्नले समूह चरणमा शतप्रतिशत जित निकालेको छ । बार्सिलोना २१ वर्षपछि समूह चरणबाट बाहिरिएको हो ।

बायर्नले ६ खेलबाट १८ अङ्क जोडेको छ । पराजित बार्सिलोना ७ अङ्कका साथ तेस्रो स्थानमा छ । च्याम्पियन्स लिगको अर्को खेलमा बेन्फिकाले डाइनाभो किभलाई २-० ले हराएको छ । बेन्फिका समूह ‘ई’ को उपविजेताको रुपमा अन्तिम १६ मा पुग्न सफल भयो । बेन्फिकाको जितमा रोमन यारेमचुक र गिल्बर्टो जुनियरले गोल गरे । जितपछि बेन्फिकाले समूहमा ६ खेलबाट ८ अङ्क जोड्यो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७