जुम्लामा ट्युसन कक्षामै विद्यार्थीलाई मोडर्ना खोप


१४ पुष २०७८, बुधबार
moderna covid 19 vaccine

जुम्ला । चिसो बढेसँगै विद्यालय बन्द भएपछि हिमाली जिल्लाका बालबालिकालाई मोडर्ना खोप दिन समस्या भएको छ । चिसोमा हिउँदे बिदाका कारण विद्यालय बन्द हुने भएकाले बालबालिकालाई खोप लगाउन समस्या भएको हो ।

विद्यालयमा बालबालिका नभेटिने भएपछि स्वास्थ्यकर्मी ट्युसन कक्षामै पुगेर उनीहरुलाई मोडर्ना खोप दिन व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँले जानकारी दिए । ‘जुम्लामा १८ वर्षमुनिका बालबालिकाका लागि १३ हजार मोडर्ना खोप आएको छ’, उनले भने, ‘आजका दिनसम्म सात हजार बालबालिकालाई खोप लगाइसकिएको छ ।’

मङ्गलबार जुम्लाको हिमा गाउँपालिकाको महावैपातरखोला विद्यालयमा पुगेर बालबालिकाका खोपको अवस्था बुझेर फर्केको जानकारी दिँदै उनले चिसो बढेसँगै हिजोदेखि हिमपात भइरहेकाले स्वास्थ्यकर्मीलाई खोप लगाउन सकस भएको बताए ।

प्रसाईका अनुसार आज पनि जुम्लामा हिमपात भइरहेकाले स्थानीयवासीलाई यहाँका विभिन्न चोक-चोकमा दाउरा जगेडा गरेर आगो बाल्न लगाइएको र न्यानो कपडा लगाउन सुझाइएको छ । हिमपातका कारण सरकारी कार्यालयको कामकाज प्रभावित भएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७