वरियता ठूलो कुरो होइन, शेखर कोइरालालाई म सँधै सम्मान गर्छु : विश्वप्रकाश शर्मा


२० पुष २०७८, मंगलवार
IMG 8263 ZQ712aRJlr

मोरङ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पाँच दलीय गठबन्धनको आयु एजेण्डा र आवश्यकताले निर्धारण गर्ने बताएका छन् ।
उनले आगामी दिनमा हुने तीन तहको निर्वाचन काँग्रेस एक्लै चुनावमा लड्ने या गठबन्धनको सहकार्यमा लड्ने भन्ने टुङ्गो अहिले नै लागि नसकेको पनि प्रष्ट पारेका हुन् ।

विराटनगरमा आज स्थानीय सञ्चारकर्मीसँगको कुराकानीमा महामन्त्री शर्माले गठबन्धनले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा उम्मेदवार सहमतिमा टुङ्ग्याएको बताए । ‘आगामी तीन तहको निर्वाचनमा काँग्रेस चुनाव एक्लै लड्ने हो ?’ भनेर सञ्चारकर्मीको राखेको जिज्ञासामा महामन्त्री शर्माले भने, ‘कसैको घरमा पास्नीको निम्तोमा विवाहको शुभकामना दिन मिल्दैन । पाँच दलीय गठबन्धनको सहयात्रा राष्ट्रिय सभा सदस्यको चुनावसम्म अघि बढेको छ । भोलि हुने तिन तहको निर्वाचनमा काँग्रेस एक्लै चुनावमा जान्छ या जाँदैन भन्ने बारेमा एजेण्डा र आवश्यकता निर्धारण गर्नेछ ।’

उनले काँग्रेसको नेतृत्वमा रहेको पाँच दलीय गठबन्धनको सरकार सफल भएको दाबी गरे । उनले महाधिवेशन पछाडि सभापति समेत रहेका शेरबहादुर देउवालाई सरकारमा काम गर्न थप ऊर्जा मिलेको बताए । महामन्त्री शर्माले अहिलेको सरकारले कोरोनाको खोपमा सफलता मिलेको दाबी गरेका छन् । उनले पाँच दलीय गठबन्धनको सरकारको निर्धारण गरेको खोप र चुनाव सम्पन्न गर्ने प्रमुख दायित्वमा दुवै सफल हुँदै गएको दाबी गरे ।

महामन्त्री शर्माले काँग्रेसको १४ औँ महाधिवेशन पछाडि काँग्रेसभित्र गुटउपगुट सकिएको समेत दाबी गरे । उनले पराजय भोगेका नेताहरू अक्षम भएको नभई लोकतान्त्रिक पद्धतिबाट अगाडि बढ्दा कोही छुटेको बताए । ‘शेखर कोइरालाले तपाईंलाई नेता मान्ने कि तपाईंले नेता मान्ने ?’ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले कसले कसलाई नेता मान्ने भन्ने विषय ठूलो नभएको समेत बताए । उनले वरियता ठूलो कुरो नभएको बताउँदै शेखर कोइरालालाई आफूले सँधैं सम्मान गर्ने बताए ।

राष्ट्रियसभाको चुनावमा गठबन्धनसँग मिल्दा काँग्रेसलाई तीन वटा सिटमा फाइदा पुगेको पनि उनले बताए । प्रदेश १ मा मात्रै एमालेसँग प्रतिस्पर्धा देखिएको बताउँदै उनले सातवटै प्रदेशमा गठबन्धन दलले चुनाव जित्नेसमेत दाबी गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७