वीरगञ्जमा भारतीय नागरिकको शव फेला


२३ पुष २०७८, शुक्रबार
Dead body

वीरगञ्ज । वीरगञ्जमा एक पुरुषको शव फेला परेको छ । भारत कलकत्ता घर भई वीरगञ्ज-३ बस्ने ४८ वर्षीय मुख्तार मियाको शव फेला परेको हो । मियाले चार महिनादेखि वीरगञ्जमा इलेक्ट्रिक रिक्सा चलाउँदै आएका थिए ।

नारायणी बयोधा अस्पतालको पछाडि वीरगञ्ज-२३ इटिहायीस्थित कुलोमा बिहीबार अपरान्ह मियाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालका अनुसार कुलोमा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको हो ।

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयले पहिचान गर्न नसकेपछि प्रहरीले घटनास्थलको निरीक्षण गरी मुचुल्का गरेर पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाएको थियो । पछि मात्रै उनको पहिचान खुलेको प्रहरीले जनाएको छ । ई-रिक्सा चलाउनु अघि उनी छाला उद्योगमा मजदुरी गर्थे । उनी बुधबार ६ बजेदेखि नै ई-रिक्सासहित हराएका थिए ।

टाउकोमा चोट लागेको र घटनास्थल वरपर रगतको टाटा देखिएकाले कर्तव्य गरी मारेको हुन सक्ने आशंका प्रहरीले गरेको छ । प्रहरी नायब उपरीक्षक खनालले पोष्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण खुल्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७