ओलीले संसद्लाई बन्धक बनाए, सहमतिमा नआए अब एमालेको भण्डाफोर हुन्छ : गगन


२४ पुष २०७८, शनिबार
gagan thapa DEbpDKb6iq

गोरखा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद्लाई बन्धक बनाएको आरोप लगाएका छन् । पुनर्स्थापित संसद्लाई एमाले अध्यक्ष ओलीले योजनाबद्ध ढंगले चल्न नदिएर बन्धक बनाउन खोजेको भन्दै महामन्त्री थापाले यस्तो आरोप लगाएका हुन् ।

‘संसद्लाई पंगु बनाउने कोशिस एमालेबाट गरिएको छ । संसदीय व्यवस्था कामै नलाग्ने हो भन्ने स्थापित गर्न खोजिँदैछ’, शुक्रबार गोरखामा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा महामन्त्री थापाले भने, ‘हामी सरकार चलाउने पार्टी हो, केही ठाउँमा झुक्नुपर्छ, झुक्छौं । संसद् चलाउने विषयमा विनम्र हुनुपर्छ, हुन्छौं । सांसदले संसद्मा बोल्ने हो, चोक र चौतारीमा होइन ।’

उनले एमालेले थिलथिलो पारेको व्यवस्थालाई कांग्रेसले सम्हाल्ने बेला आएको बताए । उनले भने, ‘संसद्बाट पारित गर्नुपर्ने दर्जनौं विषय छन् । अब संसद् चलाउने विषयमा छलफल, संवाद हुन्छ, सहमतिमा नआए एमालेको भण्डाफोर हुन्छ ।’ महामन्त्री थापाले न्यायालयलाई अहिलेको अप्ठेरोबाट बाहिर निकाल्न कांग्रेसले कठोर निणर्य लिनुपर्ने बताए। उनले भने, ‘कि न्यायालयभित्रै संवादबाट स्थिति सामान्य हुनुपर्छ, होइन भने नेपाली कांग्रेसले कठोर र निर्मम निणर्य लिनुपर्ने हुनसक्छ ।’ उनले न्यायालय प्रमुखले न्यायालयलाई सही ढंगले चलाउन नसके त्यहाँबाट हट्नुपर्ने र अदालत सही ढंगले चल्नुपर्ने बताए ।

अहिले सत्ता गठबन्धमा रहेका दलहरूबीच निश्चित अवधिसम्म तालमेल हुने बताउँदै उनले निर्वाचनमा कांग्रेस एक्लैले लड्ने आधार तयार गर्न कार्यकर्तालाई निर्देशन दिए । ‘हाम्रो पार्टीलाई संग्रहालयमा पुर्‍याइदिन्छौं भनेको कुरा हामीले बिर्सिएका छैनौं’, अगामी चुनावमा तालमेलको सम्भावना नरहेको लक्षित गर्दै थापाले भने, ‘अब कांग्रेसका कार्यकर्ताले रुखबाहेक अन्यत्र छापा लगाउनुपर्ने अवस्था आउँदैन ।’

हिजो के गर्‍यौं भनेर होइन, भोलि यो गर्छौं भनेर कांग्रेस आउँदो चुनावमा जनताबीचमा जाने उनले बताए । महामन्त्री थापाले टोल समिति गठन गर्दै निर्वाचन केन्द्रित गतिविधि अघि बढाउन कार्यकर्तालाई आग्रह गरे । ‘केन्द्रमा कांग्रेसलाई विधिमा हिँडाउने काम हामी गर्छौं, तल्लो तहमा तपाईंहरूले गर्नुहोस्’, उनले भने । उनले युवा विदेश जाने चक्र अब कांग्रेसले तोड्ने बताए ।

थापाले अहिले चर्चामा रहेको एमसिसीबारे बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा निणर्य भएको र त्यसपछि कम्युनिस्ट नेतृत्वमा बनेका सरकारले सम्झौता गरेको बताए । ‘एमसिसी भन्यो भने कांग्रेसका लागि हो कि जस्तो भएको छ, यसअघि भएका सम्झौताका विषयमा कांग्रेस बोल्नुपर्छ, जनतालाई बुझाउनुपर्छ’, उनले भने । प्रशिक्षण कार्यक्रममा कांग्रेस गोरखाका सभापति नन्दप्रसाद न्यौपाने, केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, चीनकाजी श्रेष्ठ, अब्दुल सतार, राष्ट्रियसभाकी उम्मेदवार कमला पन्त, कांग्रेस गण्डकी प्रदेश महामन्त्री किरणबाबु श्रेष्ठलगायतले धारणा राखेका थिए । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७