सुत्केरीको मृत्यु भएको भन्दै त्रिशूली अस्पतालमा तोडफोड : आकस्मिक बाहेकका सेवा बन्द


२७ पुष २०७८, मंगलवार
trishuli tod

नुवाकोट । अस्पतालको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै अस्पतालमा तोडफोड गरिएपछि नुवाकोटको त्रिशूली अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ ।

सुत्केरीका आफन्तले अस्पताल तोडफोड गर्दै स्वास्थ्यकर्मीमाथि आक्रमणको प्रयास गरेपछि आकस्मिक बाहेकका सेवा बन्द गरिएको जनाइएको छ । चिकित्सकहरूको सुरक्षाको ग्यारेन्टी भएपछि मात्र सम्पूर्ण सेवा सञ्चालन गरिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दीपेन्द्र पाण्डेले बताएका छन् ।

नुवाकोटको विदूर नगरपालिका-७ की २७ वर्षीया एक महिलाको सोमबार राति नर्मल डेलिभरी भएको थियो । सुत्केरी भएपछि अत्यधिक रक्तश्रावका कारण ती महिलाको मृत्यु भएको जनाइएको छ । सुत्केरीको मृत्यु भएसँगै आफन्तले अस्पतालको लापरबाहीका कारण उनको मृत्यु भएको भन्दै राति साढे ११ बजेदेखि अस्पतालमा तोडफोड गर्न थालेका थिए । तोडफोडबाट अस्पतालको पेडियाट्रिक ओपीडी, ईसीजी रुम, सर्जरी ओपीडी र फार्मेसीलगायत कक्षमा क्षति पुगेको छ ।

डा. पाण्डेले भने उपचारका क्रममा कुनै लापरबाही नभएको दाबी गर्दैै मृतकका आफन्तलाई तोडफोड भन्दा पनि उपचारमा चित्त नबुझे सम्बन्धित निकायमा उजुरी दिन आग्रह गरेका छन् । ४० हप्ता कटेको गर्भ लिएर सुत्केरी गराउन आएकी ती महिलालाई प्रसव गराउन औषधि दिइएको थियो भने नर्मल डेलिभरीपछि उनको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको डा. पाण्डेले बताए । नवजात शिशुलाई भने काठमाडौं रिफर गरिएको छ । मृतक महिलाको शव आफन्तले बुझिसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७