भिडियो बनाउन युटुबरले जानीजानी गराए विमान दुर्घटना


१३ बैशाख २०७९, मंगलवार
youtuber deliberately crashes plane1650933789

वासिङटन । वासिङटन । भिडियो बनाएर आफ्नो च्यानलमा राख्नकै लागि एक युटुबरले २०२१ मा जानीजानी विमान दुर्घटना गराएको अमेरिकाको संघीय उडान विभाग, एफएएले बताएको छ । ट्रेभर जेकब नाम गरेका युटुबरले आफ्नो च्यानलमा दर्शक बढाउन यस्तो गरेको पत्ता लागेपछि विभागले अहिले अनुसन्धान थालेको छ ।

१ लाख ३४ हजार सस्क्राइबर रहेको उनको च्यानलमा राखिएको विमान दुर्घटनाको सो भिडियो डिसेम्बरमा पोस्ट भएदेखि २० लाख पटक हेरिएको छ । युटुबर जेकब वास्तवमा स्नोबोर्डका खेलाडी पनि हुन् र ओलम्पिक्समा समेत सहभागिता जनाएका थिए । तर विमान दुर्घटनापछि भने उनीमाथि अनुसन्धान थालिएको छ । सो विमान २०२१ नोभेम्बर २४ का दिन लस पेड्रेस राष्ट्रिय वन क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो ।

एफएएका अनुसार अनुसन्धानका क्रममा उडान भन्दा अगाडि जेकबले सो विमानको बाहिरपट्टी थुप्रै क्यामरा जडान गरेका थिए जसमा सबै क्यामरा अगाडि प्रोपेलरतर्फ फर्काइएको थियो । यसले उडानको क्रममा विमान भित्र र बाहिर दुवैतर्फको भिडियो लिन सक्छ ।

यसमा जेकबले विमानको इन्जिन फेल भएका कारण आफूले विमानबाट हाम फालेको दाबी गरेका थिए । तर उनले इन्जिन फेरि सुरु गर्ने कुनै प्रयास गरेका छैनन् न कतै नजिकी खुला ठाउँमा अवतरण गर्न खोजेका छन् । यति मात्र नभएर उनले ट्राफिक कन्ट्रोललाई समेत आपत्कालीन फ्रिक्वेन्सीमा कुनै सम्पर्कको प्रयास नगरेको एफएएले जनाएको छ । उनले केबल इन्जिन फेल भयो भन्दै प्यारासुट लगाएर हाम फालेको भिडियोमा देख्न सकिन्छ ।

जेकबलाई अनुसन्धान विभागले लेखेको पत्रमा भनिएको छ, ‘तपाई हातमा सेल्फि स्टिक बोकेर विमानबाट हाम फाल्नु हुन्छ र कोही नभएको विमानको उडान रेकर्ड गरिरहनु हुन्छ । दुर्घटनापछि तपाई उठेर दुर्घटनाग्रस्त ठाउँमा गइ क्यामरा लिएर जानुहुन्छ । यसको अर्थ के हो ?’ यस्तोमा एफएएले जेकबलाई एकदमै गैरजिम्मेवार र लापरबाहीपूणर् हर्कत भनेर निन्दा गरेको छ भने यसले कसैको सम्पति या जीवनमै क्षति पुर्‍याउने खतरा भएकाले उनको निजी पाइलट लाइसेन्स रद्द गरिदिएको छ ।

विमान दुर्घटनाको सो भिडियो जेकबको च्यानलको सबैभन्दा धेरै हेरिएको भिडियो हो । यसपछि उनले आफ्नो च्यानलमा एउटा मात्र भिडियो अपलोड गरेका छन् । उनले प्रायः युट्युबमा स्काइडाइभिङ, स्नोबोर्डिङ लगायतका अधिक जोखिमपूर्ण खेलहरुको भिडियो राख्ने गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७