स्पष्टीकरण सोधिएका चार नेताले छाडे राप्रपा


३ श्रावण २०७९, मंगलवार
dil bikas dilanath raprapa DsypJeZcQ0

काठमाडौँ । स्पष्टीकरण सोधिएका चार नेताहरुले राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका छन् । आज (मंगलबार) एक विज्ञप्ति जारी गर्दै तीन नेताहरुले पार्टीबाट अलग भएको घोषणा गरेका हुन् । पार्टी परित्याग गर्ने नेताहरुमा दीलनाथ गिरी, दिलविकास राजभण्डारी, श्यामप्रसाद तिमल्सिना र राजाराम श्रेष्ठ छन् ।

पार्टीमा आन्तरिक प्रजातन्त्रको चीरहरण भएको अवस्थामा सर्वसत्तावाद र अहंकार मौलाएको उनीहरुले बताएका छन् । विधि विधानको धज्जी उडेको अवस्थामा अपमानित र निरीह भएर बस्न नसक्ने भन्दै उनीहरुले पार्टीको साधारण सदस्यसमेत नरहने गरी छाडेको घोषणा गरेका छन् ।

‘आन्तरिक प्रजातन्त्रको चीरहरण भएको, सर्वसत्तावाद र अहंकार मौलाएको, विधि विधानको धज्जी उडिरहेको अवस्थामा अपमानित र निरीह भएर पार्टीभित्र बस्न सक्ने अवस्था नभएकाले आजका मितिदेखि हामी साधारण सदस्यसमेत नरहने गरि अलग भएका छौं,’ विज्ञप्तिमा भनिएको छ ।

गत २९ असारमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यी ४ नेताहरुलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । तर, उक्त स्पष्टीकरणलाई ‘नाङ्लो ठटाएर हात्ती तर्साउने सस्तो खेल’ भन्दै उनीहरुले असन्तुष्टि जनाएका थिए । निषेध, पूर्वाग्रह र दुराशयबाट प्रेरित भएको भन्दै उनीहरुले स्पष्टीकरणको जवाफ दिन मानेका थिएनन् ।

मुलुकमा एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकता अहिले झन् बढेर गएको भन्दै आफूहरु निरन्तर अभियानमा रहने उनीहरुले बताएका छन् । यसैबीच, राप्रपाको केन्द्रीय कार्यसम्पादन बैठक पार्टी कार्यालयमा जारी छ ।
बैठकमा साउन ५ गतेदेखि शुरु हुने केन्द्रीय कार्यसमितिको बैठकमा पेश हुने प्रतिवेदन, दोस्रो चरणको आन्दोलनको मोडालिटी लगायतका विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७