संविधान बमोजिम फागुनमा आवधिक निर्वाचन हुनुपर्छ : गुरुङ


१८ श्रावण २०७९, बुधबार
devprasad gurung

काठमाडौं । गठबन्धन दलका शीर्ष नेताहरुबीच मंसिर ४ मा चुनाव गर्ने सहमति जुटेको चर्चा चलिरहेका बेला सत्तारुढ दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले भने संविधान बमोजिम फागुनमा आवधिक निर्वाचन हुनुपर्ने बताए ।

गुरुङले राष्ट्रिय सभाको कार्यकाल फागुन २० गतेलाई आधार बनाई कानुन बनाएकाले प्रतिनिधिसभाको अवधि समेत प्रधानमन्त्रीले सपथ गरेको समयलाई आधार बनाउनुपर्ने बताएका छन् ।

‘संसदको अवधि जुन दिनदेखि सपथ ग्रहण भएको छ त्यति बेलादेखि काउन्ट हुन्छ । राष्ट्रियसभाले फागुन २० गते सपथ ग्रहण गराएको समय बनाएर कानुन बनाई सकेको छ । त्यसै अनुसार राष्ट्रिय सभाको कार्यकाल बनाएको छ’ गुरुङले भने, ‘एउटा सभाको एउटा व्यवस्था हुने अर्कोको अर्कै हुने भन्ने हुँदैन । संवैधानिक रुपमा प्रतिनिधिसभाको कार्यकाल फागुनमै हुनुपर्छ ।’ २०७४ सालको चुनाव भएकै चरणलाई मान्दा पनि दुविधा रहेको गुरुङले बताए ।


‘चुनाव भएकै कुरा गर्ने हो भने पहिलो चरणमा भएकोलाई मान्ने हो कि दोस्रो चरणमा भएकोलाई मान्ने भन्नेमा दुविधा छ । समानुपातिक सांसदले प्रमाणपत्र पाएकोलाई मान्ने हो भने कानुन बनाउनु प¥यो । संसदको पुरा कार्यकाल कहिलेसम्म हुने भन्ने विषयमा ऐन कानुन केही छैन’ गुरुङले भने, ‘पार्टीको जोड फागुनमा चुनाव हुनुपर्छ वा पर्दैन भन्ने भन्दा पनि संविधान र कानुनको पालना गर्ने वा नगर्ने भन्ने छ ।’ निर्वाचन आयोगले मनपरी ढंगले चुनाव गर्ने मिति घोषणा गर्न नपाउने गुरुङले बताए ।

‘निर्वाचन आयोगले मनलाग्दी ढंगले मिति घोषणा गर्छ । आयोगलाई कुनै कानुन संविधानको मतलव छैन, जे भने पनि भयो । उल्टै कानुन र संविधान उल्लङ्घनतिर उद्धत छ’ गुरुङले थपे, ‘राजनीतिक दलहरुबीच समझदारी भएमा मंसिर वा अन्य कुनै महिनामा चुनाव हुन सक्ने भयो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७