दशैंको मुखमा कैलालीमा बाढीले विजोक : १५ सय बढी परिवार सडकमा, उद्धार जारी

पाक्न लागेको आठ हजार विघाको धानबाली नोक्सान, बाढीबाट सात हजार बढी प्रभावित


२ आश्विन २०७९, आईतवार
Badhikailali 2

कैलाली । बिहीबार रातिदेखि परेको अविरल वर्षापछि बाढी आउँदा भजनी नगरपालिकाका करिब सात हजार घरपरिवार प्रभावित भएका छन् ।

बाढीका प्रभावित १५ सय बढी घर परिवार शनिबार बिहानदेखि हुलाकी सडकमा बसेका छन् । बाढीका कारण आठ हजार बिघामा लगाएको फुट्न लागेको धानबालीमा क्षति भएको बताइएको छ । गत वर्ष पाकेको धान बाढीमा बगेका यहाँका किसान यस वर्ष फुल्न थालेको धानबाली बाढीले नोक्सान गरेपछि थप पीडामा परेका छन् ।

Badhikailali 3

बाढीले प्रभावितले घरमा रहेका अन्नपात समेत जोगाउन सकेनन्, प्रभावितहरू अत्यावश्यक कागजात र गाईभैंसी डोहोर्‍याएर भागेर ज्यान बचाएका स्थानीय जयप्रसाद ढुङ्गानाले बताए । हुलाकी सडकमा बसेकाहरूको बिचल्ली छ । सडकमा बस्नेहरू एकसरो लुगामा रहेका स्थानीय रुपा चौधरीले बताइन् । ‘बाढी बस्तीमा पसेपछि ज्यान जोगाउन भन्दै सात जनाको परिवार भाग्यौं’, उनले भने, ‘ज्यान बाँचे खाइएला, हामी सबै भोकै छौँ, अब सम्पत्ति बगेको हिसाब छैन ।’

Badhikailali 4

बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण जिल्लाको दक्षिणी क्षेत्र डुबानमा परेको हो । चुरे मुहान भएर बग्ने पथरैया, कान्द्रा, काँढा, मोहना, खुटिया, कटैनी नदीमा आएको बाढीले भजनी, कैलारी, जोशीपुर, टीकापुर, जानकी, धनगढीलगायतका पालिकामा डुबान भएको छ । टीकापुर नगरपालिका-८ को वनगाउँ क्षेत्रमा कर्णाली नदी गाउँ पसेको छ ।

भजनी नगरपालिका सबै डुबानमा परेको र त्यसमा पनि वडा नं ३, ५, ७ र ८ बढी प्रभावित भएका भजनी नगर प्रमुख केवल चौधरीले जानकारी दिए । ‘पूरै पालिका डुबानमा परेको छ, डुबानमा परेकाहरूको उद्धार कार्य जारीरहेको छ’, उनले भने, ‘स्थानीय पनि उद्धारमा खट्नु भएको छ । हामी स्रोत साधन र जनशक्ति परिचालन गरेर खटेका छौँ, हजारौँ घर डुबानमा परेका र सयौँ विस्थापित भएका छन् ।’

टीकापुर नगरपालिकामा कर्णाली, मोहना र पथरैया नदीको पानी गाउँमा पस्दा करिब साढे पाँच सय घर डुबानमा परेका छन् । वडा नं ८ को वनगाउँमा कर्णाली नदीले तटबन्ध भत्काएर गाउँमा पस्दा त्यहाँ निकै जोखिम बढेको छ । त्यहाँका नागरिकलाई उच्च घरमा सारिएको छ । अहिलेको यो तथ्याङ्क नै अन्तिम नभएको र अझै पनि तथ्याङ्क सङ्कलन गर्ने काम जारी रहेकाले वाढीबाट प्रभावितको संख्या बढ्न सक्ने नगर उपप्रमुख खडक शाहले जानकारी दिए । ‘हामीले प्रभावितलाई अत्यावश्यक सामान त्रिपाल, पानीलगायतका वितरण गरेका छौं’, उनले भने, ‘उद्धारमा खटेका छौँ, अझै संख्या बढ्न सक्ने देखिएको छ ।’

जानकी गाउँपालिकामा पनि पथरैया नदीको पानी गाउँमा पस्दा वडा नं ४ र ७ का एक सय पाँच घर विस्थापित भएका छन् भने दुई सय घरपरिवार प्रभावित भएका छन् । उनीहरु अहिले स्थानीयस्तरमा बनेका उच्च घरमा आश्रय लिएर बसिरहेका र डुबानबाट विस्थापित परिवारलाई गाउँपालिकाले सामूहिक मेस सञ्चालन गरी खानाको व्यवस्था गरेको जानकी गाउँपालिका विपद् व्यवस्थापन शाखाका संयोजक नेत्रप्रसाद जैशीले जानकारी दिए ।

Badhikailali 1

जोशीपुर गाउँपालिकामा पनि एक हजार घर डुबानमा परेका र त्यसको यकिन तथ्याङ्क आउन केही दिन लाग्ने गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरीले जानकारी दिए । अहिले गाउँपालिकाले बाढीबाट विस्थापित भएकालाई सुरक्षित स्थानतर्फ सारी उनीहरूलाई तत्कालीन राहत दिने काम भइरहेको अध्यक्ष चौधरीले बताए ।

कैलारी गाउँपालिकाको पनि वडा नं १, २, ५, ७ र ८ डुबानमा परेका छन् । वडा नं १ र २ आंशिकरूपमा डुबानमा परे पनि ५, ७ र ८ वडाका सबै घर डुबानमा परेका कारण कति घर डुबानमा परे भनी तथ्याङ्कसमेत लिन सकिने अवस्था छैन । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको सहयोगमा डुबानमा फसेकाहरूलाई उद्धार गर्ने काम भइरहेको गाउँपालिकाका अध्यक्ष रामसमझ चौधरीले जानकारी दिए ।

बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रस सोसाइटी, स्थानीय पालिका तथा वडा कार्यालयको समन्वय र सहकार्यमा उद्धार गरिएको छ भने उनीहरूलाई तत्कालीन राहत प्रदान गर्ने काम पनि भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७