बाढीबाट विस्थापितलाई बस्न र खानको समस्या


२ आश्विन २०७९, आईतवार
Badhikailali 2

कैलाली । कैलालीको भजनी नगरपालिका- ८ की रुपा चौधरीको परिवार बाढीबाट विस्थापित भएर नजिकैको कृष्णधोज चन्द मावि विद्यालयमा बस्दै आएका छन् । वडाका एक सय परिवारको आश्रयस्थल त्यही विद्यालय बनेको छ । घर डुवानमा परेपछि ज्यान जोगाउन सुरक्षित स्थानमा स्थानान्तरण भएका स्थानीयलाई खाना र पानीको निकै समस्या भएको छ ।

‘ज्यान जोगाएर सुरक्षित स्थानमा बसेका छौँ । ज्यान सुरक्षित छ । पानी र खानाको निकै समस्या भयो’, रुपाले भनिन्, ‘खाना नभए पनि पानी विना निकै कष्ट भोग्नुपरेको छ । हाते पम्प डुबानमा छन् । जताततै डुबान मात्रै देखिन्छ । पानीको जोहो कतैबाट भए राहत हुने थियो । सो क्षेत्रमा डुबान विस्तारै कम हुँदै गए पनि स्थानीयलाई घर फर्कन अझै एक हप्ता लाग्ने उनले बताइन् ।

भजनीकै पर्शुराम चौधरीले तीन दिनदेखि भोकै प्यासै बस्नुपरेको बताउँदै अहिलेसम्म कतैबाट पनि सहयोग नपाएको गुनासो गरे । ‘जसोतसो ज्यान जोगियो । अहिले खुला आकाश मुनि बस्नुपरेको छ’, पर्शुरामले भने, ‘आफूसँग त्रिपाल पनि छैन । मागौँ भने सबैलाई आफ्नै समस्या छ । सरकारले त्रिपाल र पानी दिए पनि हामीलाई ठूलो राहत हुने थियो ।’ उनले सडक आसपास बसेकालाई सहज भए पनि गाउँका बीचमा आश्रय लिएर बसेकाको जनजीवन निकै कष्टकर रहेको बताए ।

गाउँको बीचमा आश्रय लिएर बसेका विस्थापितलाई राहत तथा पानी पुर्‍याउन समेत निकै समस्या भएको छ । पैदल जानसक्ने अवस्था छैन । डुङ्गाको साहारामा विस्थापित परिवारलाई राहत पुर्‍याउन आवश्यक स्रोतको अभाव भएको स्थानीय जयप्रसाद ढुङ्गानाले बताए । ‘हुलाकी सडकमा बसेका स्थानीयलाई नगरपालिकाले एक पटक पानी र चाउचाउ वितरण गरेको थियो । गाउँभित्र बसेकाले त्यो पनि पाएका छैनन्’, ढुङ्गानाले भने, ‘पैदल वा सवारीसाधन लिएर जान सकिने अवस्था छैन । जानका लागि डुङ्गा चाहियो । सहजै डुङ्गा उपलब्ध हुने अवस्था छैन ।’

अझै भजनीमा एक वडाबाट अर्को वडामा सहजै जानसक्ने स्थिति छैन । एक गाउँबाट अर्को गाउँसम्म जानसक्ने अवस्था छैन । ‘आवागमन नै प्रभावित भएको छ । प्रत्यक्ष सम्पर्क हुन सकेको छैन’, नगर प्रमुख केवल चौधरीले भने, ‘हामीले सम्बन्धित वडालाई जिम्मा दिएका छौँ ।’ उनले तीन/चार हजार जनसंख्यालाई नगरपालिकाले मात्रै राहत वितरण गर्नसक्ने अवस्था नरहेको बताउँदै अन्य सङ्घसंस्थालाई समेत सहयोगका लागि आग्रह गरिएको बताए ।

नगर प्रमुख चौधरीले डुङ्गा तथा बोट नहुँदा पनि प्रभावितलाई राहत पुर्‍याउन समस्या भएको बताए । ‘नगरपालिकाका सबै वडा डुवानमा छन् । हामीसँग भएको चारवटा बोटमध्ये दुईवटा मात्रै सञ्चालनमा छन् । दुई बोटले सबै क्षेत्रमा पुग्न कठिन भएको छ’, नगर प्रमुख चौधरीले भने, ‘अन्य सङ्घसंस्थासँग सहयोग मागेका छौँ । दुईवटा बोट सहयोग गर्ने कुरा भएको छ । थप दुई वटा भए अलि सहज हुनसक्छ ।’

उता जोशीपुर गाउँपालिकामा भने जनजीवन सामान्य बन्न थालेको छ । गाउँपालिकामा बाढीका कारण एक हजारभन्दा बढी परिवार विस्थापित भएको बताउँदै गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरीले विस्थापितको तथ्याङ्क लिने काम सुरु गरिएको बताएका छन् ।

उनले पानी कम भएसँगै स्थानीय आफ्नो घर जानेक्रम चलेको बताउँदै विस्थापित परिवारलाई तथ्याङ्कका आधारमा गाउँपालिकाले राहत वितरणगर्ने बताए । ‘पहिले तथ्याङ्क सङ्कलन गर्छौं । त्यसपछि राहत वितरणको काम गर्नेछौं’, अध्यक्ष चौधरीले भने, ‘बाढी घटे पनि अवस्था सहज हुन अझै हप्तौँ लाग्छ । त्यहाँसम्म विस्थापितलाई गाउँपालिकाले आफ्नो स्रोतले भ्याएसम्मको सहयोग गर्छ ।’

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले अविरल वर्षाका कारण प्रभावित भएको कैलालीको जनजीवन सामान्य अवस्था फर्किन थालेको बताएका छन् । उनका अनुसार वर्षा रोकिएपछि बाढीको मात्रा घट्दै जाँदा बाढी, डुवानबाट आंशिकरुपमा प्रभावित भएकाको जनजीवन सामान्य बन्दै गएको बताउँदै पूणर्रुपमा विस्थापितका लागि आवश्यक राहत तथा अन्य सहयोगका लागि समन्वय भइरहेको बताए ।

‘बाढीबाट बढी प्रभावित भजनी क्षेत्रका लागि नेपाल रेडक्रस र प्रदेश सरकारसँग समन्वय गरिरहेका छौं’, प्रमुख जिल्ला अधिकारी थापाले भने, ‘हामीले स्थलगत अवलोकनपछि कताको अवस्था के छ भन्ने र त्यसैअनुसारको राहतको समन्वय गर्ने तयारी भएको छ ।’ बाढीका कारण कैलालीमा दुई जनाले ज्यान गुमाएको प्रमुख जिल्ला अधिकारी थापाले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७