जनमोर्चाले निर्वाचन आयोगलाई बुझायो समानुपातिक उम्मेदवारको बन्दसूची

कुन प्रदेशबाट कति उम्मेद्वार ?


३ आश्विन २०७९, सोमबार
Nirbachan scaled

काठमाडौं । मंसिर ४ मा हुने संघ र प्रदेशसभा निर्वाचनका लागि दलहरुले समानुपातिकतर्फका उम्मेदवारहरुको बन्दसूची बुझाउने क्रम जारी छ । यसै क्रममा आज (सोमबार) बन्दसूची बुझाउन दलहरु निर्वाचन आयोग पुगेका छन् ।

राष्ट्रिय जनमोर्चाले प्रतिनिधि सभातर्फ ११० पदमा समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएको छ । यस्तै जनमोर्चाले सात प्रदेशमध्ये पाँच प्रदेशका लागि पनि उम्मेदवारको बन्दसूची बुझाएको हो । निर्वाचन आयोगले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि असोज २ र ३ गते बन्दसूचीको समय तोकेको छ ।

जसअन्तर्गत् बागमतीमा २६, गण्डकीमा २४, लुम्बिनीमा ३५, कर्णालीमा १६ र सुदूरपश्चिम प्रदेशमा २१ जना उम्मेदवारको बन्दसूची बुझाएको राष्ट्रिय जनमोर्चाले जनाएको छ । प्रतिनिधि सभातर्फ समानुपातिकमा पार्टीका कार्यवाहक रश्मीराज नेपालीलाई पहिलो नम्बरमा सिफारिस गरेको पार्टीका केन्द्रीय सदस्य लालबहादुर थापाले जानकारी दिए । प्रदेश १ र मधेश प्रदेशमा भने उम्मेदवारको बन्दसूची पेश नगरिएको उनले बताए ।

निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार आइतबार र सोमबार (२ र ३ असोज) लाई बन्दसूची पेश गर्ने कार्यक्रम छ । आज समानुपातिक सांसदको बन्द सूची बुझाउने अन्तिम दिन हो । सोही अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, राप्रपा लगायतका दलहरुले आयोग पुगेर बन्दसूची पेश गर्ने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७