‘बाबुराम र रविन्द्र मिश्र उस्तै भन्न मिल्दैन, सखर र गोबर हेर्दा मात्र उस्तै देखिन्छ’


१२ आश्विन २०७९, बुधबार
baburam bhattarai
फाइल फोटो

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले केही वर्षयता आफ्नो पार्टीको नाम फेरिए पनि विचार र सिद्धान्तमा विचलन नभएको दाबी गरेका छन् । सामाजिक सञ्जालमा बाबुराम र रविन्द्र मिश्र उस्तै हुन् भन्ने कुरा उठिरहेको भन्दै उनले पुरातन राजावादी र अग्रगमनकारी शक्ति कहिल्यै उस्तै नहुने जिकिर गरेका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजावादी र अग्रगमनकारी शक्तिलाई एकै ठाउँमा दाँज्नु गुड (सखर) र गोबरझैं भएको उल्लेख गरे । माओवादी, नयाँ शक्ति, जसपा हुँदै नेसपासम्म आइपुगेका डा. भट्टराईले विवेकशिल साझाबाट राप्रपा प्रवेश गरेका मिश्रसँग आफ्नो तुलना भएपछि यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘आज सामाजिक सञ्जालमा देखें-आखिर वैकल्पिक भन्नेहरुको पनि स्पष्टता थिएन, रविन्द्र मिश्र राजावादीतिर जाँदैछ, बाबुराम पनि पछि फर्कियो’ भन्नेछ । गुड र गोबर हेर्दा त उस्तै उस्तै हुन्छ, तर कति गहिराईमा गएर हिँडेको छ भन्ने कुरा हो । त्यसको आधारभूत कुरा केही पनि मिल्दैन,’ उनले भने ।

नेपाल जस्तो बहुजातीय, बहुभाषिक मुलुकमा संघीय संरचना जात, भाषाअनुसार पहिचानको प्रदेश संरचना बन्नुपर्नेमा त्यो नबन्नु अपूरो भएको बताए । नेपालको शासकीय निर्वाचन प्रणाली खिचडी जस्तो भएको उनको भनाइ छ ।

उनले भने, ‘यो संविधान आधा गिलास भरी र आधा खाली छ। नेपालको जस्तो भूराजनीतिक अवस्था छ, दुई ठूला देशको बीचमा हामी छौँ, त्यसलाई ध्यान दिँदै हामीले पूर्णरूपमा क्रान्ति पूरा गर्न नसकेको नै हो । सम्झौताको बाटोबाट गएपनि मुलतः संविधान बनाएर अग्रगमनको ढोका खोल्यौँ । तर पूर्ण गर्न सकेनौँ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७