बर्खामा कपन क्षेत्रमा जहिल्यै कष्ट (फोटो फिचर)


२३ आश्विन २०७९, आईतवार
milan chock ddgsgedh scaled

काठमाडौं । हरेक वर्ष बर्खा महिना शुरु भएसँगै काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१० कपन क्षेत्रका नागरिकले डुबानको कष्ट झेल्नु पर्छ ।
यस क्षेत्रका बासिन्दाले हरेक बर्ष डुबानको समस्या झेल्दै आइरहेको भए पनि समस्या समाधानका लागि सरकारको तर्फबाट कुनै ठोस काम हुन सकेको छैन । पानी पर्नासाथ मिलन चोकदेखि भृकुटी चोकसम्मको सडकमा पानीको आहाल जम्छ । जसका कारण पैदल मात्र नभई गाडीमा हिंड्नेहरुलाई समेत समस्या पर्ने गरेको छ । सार्वजनिक यातायात, मोटरसाईकल, स्थानीय विद्यार्थीहरुले दैनिक आवातजावत गर्ने मिलचोक क्षेत्रको सडकमा घाम लाग्दा धुलो र पानी पर्दा डुबानको समस्या भोग्नु परिरहेको छ । थोरै बर्षा हुँदा पनि सडकमा आहाल जम्ने र घरभित्र समेत पानी पस्ने समस्याले आफूहरुलाई आजित बनाएको स्थानीयको गुनासो छ ।

कपन क्षेत्रदेखि गोपीकृष्ण, मिलनचोक, भृकुटीचोक, तेन्जिङचोकलगायतको क्षेत्र हरेक वर्ष बर्खा याममा डुबानमा पर्ने गरेको छ । कहिले सडक, कहिले ढल, कहिले खानेपानीको नाममा बनाइने संरचनाका कारण बर्खाको पानीले निकास नपाउँदा ढल मिसिएको बाढीको समस्या स्थानीयले व्यहोर्दै आएका छन् । अव्यवस्थित ढल अनि ढलमा पानीको मात्रा बढी भएर बिर्को समेत भत्किएर बाहिर बग्ने हुँदा यो क्षेत्र दुर्गन्धित हुने गरेको छ ।

milan chock44 scaled

मिलनचोक, गोपीकृष्ण हल सरस्वतीनगरलगायत आसपास क्षेत्र बर्षेनी डुबानमा पर्ने गरेको छ । बर्खामा आकाशको पानी र अन्यत्रबाट बगेर आउने बाढीले यस क्षेत्रका अधिकांश सडक पोखरी बन्ने गरेको स्थानीय बताउँछन् ।
ढल व्यवस्थापनको त्रुटी, बर्खाको पानी बगेर जाने निकास नहुनु आदि कारणले यस क्षेत्रको सडक पोखरी जस्तो हुने गरेको छ । स्थानीय कृष्ण लुईटेलका अनुसार २०६० सालसम्म आनी गुम्बादेखि झरेको चुकुन्चा खोला मिलन चोक हुँदै सात तलेसम्म बाहिरबाटै बग्ने गरेको बताए । लुईटेलका अनुसार अहिले खोलामाथि सडक बनाईका कारण स्थानीयले हरेक बर्ष सास्ती भोग्नु परेको छ । हरेक बर्ष जताततै बग्ने ढलको पानीका कारण सडकको कालोपत्रे समेत भत्काइसकेको छ । कपन प्रवेश गर्ने गोपीकृष्णसँगैको सडकको मुखैमा ठूला–ठूला खाल्डा बनेका छन् ।

milan chock sdgfs scaled
रोड मुनि बगेको खोला मिलन चोक

गत असोजमा बूढानीलकण्ठ नगरपालिका–१० को सीमानामा रहेको तरकारी बजार नजिकैको ढलमा खसेर १० वर्षीय बालक उज्ज्वल विकको मृत्यु समेत भएको थियो । बालकको शव पाँच दिनपछि ललितपुरको वाग्मती गाउँपालिका–१ घुसेलको बाग्मती नदी किनारमा फेला परेको थियो ।
मिलन चोकमा धेरै पटक मोटरसाइकल, टेम्पो बर्खाको भलले बगाइसकेको बताउँदै कपनका व्यवसायी दीपक नेपाली भन्छन्, ‘खै यो दुःख कहिलेसम्म भोग्नु पर्ने हो । काठमाडौंमै यस्तो कष्ट हुँदा पनि सरकार र सरकारमा बसेका नेताहरुको आँखा पुग्न सकेन ।’
मिलनचोकमा पानी पर्ने बित्तिकै सडकमा खोलो नै बग्ने गरेको स्थानीय बताउँछन् । स्थानीयवासी सडक समेत पार गर्न सक्दैनन् । हरेक वर्ष यस क्षेत्रमा बाढी आउने गरेको भए पनि नजिकैको स्थानीय सरकारले सो विषयमा थाहा पाएर पनि नपाएझैं गर्ने गरेको स्थानीयको आरोप छ ।

milan chock f scaled

खाल्डा परेका सडकमा पानी जमिएर छोपिंदा मोटरसाइकल, साइकल चलाउनेहरु दुर्घटनामा समेत पर्दै आएका छन् । स्थानीयले धेरै पटक सम्बन्धित निकाय र जनप्रतिनिधिसँग सडक मर्मत तथा स्तरोन्नतिका लागि माग नगरेका पनि होइनन् तर हुन्छ भन्ने, काम नगर्ने प्रवृत्तिले हैरान भएको उनीहरूको गुनासो छ ।

कपनको सडक हुँदै गुड्ने मोटरसाइकल, साइकल, स्कुटरमा यात्रा गर्नेलाई त निकै समस्या छ । कता खाल्डो छ भन्ने थाहा नपाउँदा दुर्घटना समेत हुने गरेको छ ।

कपनको मिलनचोक, साततले, कपन प्रहरी प्रभाग, आकाशे धारा हुँदै बालुवाखानी पुग्ने सडकको अवस्था पनि नाजुक छ । लामो समयदेखि खनेको ढलको खाल्डो र यसैबाट बनेको हिलो र चिप्लोबाटो माथि बग्ने पानीको भलले यहाँका बासिन्दा पीडित छन् ।कपन चौकी हुँदै मिलनचोक तरकारी बजारबाट साततले पानीको भेलले चार ठाउँमा सडक अवरूद्ध हुने गरेको छ । हरेक वर्ष बर्खा आउँछ, सडक बगाउँदा पनि सरकारी बेवास्ताका कारण यहाँका व्यवसायी र स्थानीय चिन्तित बनेका छन् ।

बुढानिलकण्ठ नगरपालिका–१० का वडाध्यक्ष नवराज भट्टराईको यस क्षेत्रको सडक सुधारका लागि ४५ करोड योजना परेको बताउँछन् । उनले आनी गुम्बादेखि मिलन चोकको तरकारी बजारसम्म सडक बन्ने कुरा सुनिश्चित भइसकेको बताउँछन् । उनले केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला एमाले नेता राजन भटराईको पहलमा सडक निमाणको काम शुरु भएको नयाँपेजलाई जानकारी दिए । तर ठेकेदारले ढिलासुत्ती गरेका कारण काम छिटो हुन नसकेको उनले बताए ।
दिनहुँ सडकको हैरानी खेप्नुपरेका स्थानीय ढलको उचित व्यवस्थापन गर्नुपर्ने बताउँछन् । स्थानीय जनप्रतिनिधिको बेवास्ताकै कारण यस क्षेत्रको सडक बेहालको अवस्थामा रहेको कपनवासीको गुनासो छ ।

milan chock 4444 scaled
milan chock 44 scaled
TH4B3072 scaled
milan chockgsdg 1 scaled

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७