दाङ–१ मा तीन सहकर्मीबीच प्रतिस्पर्धा, गंगा चौधरीले लिइनन् उम्मेदवारी फिर्ता


२६ आश्विन २०७९, बुधबार
Metmani santa ganga

दाङ । दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि तीन जना पूर्व सहकर्मीबीच प्रतिस्पर्धा हुने भएको छ ।
सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी, नेकपा एमालेबाट शान्ता चौधरी र एमाले छाडेर हाम्रो नेपाली पार्टीबाट उम्मेदवार बनेकी गंगा चौधरीबीच प्रतिस्पर्धा हुने भएको हो ।

उनीहरू तीनै जना यसअघि एमालेमा रहेर सक्रिय राजनीति गरेका हुन् । मेटमणि चौधरी एमाले विभाजन हुँदा एकीकृत समाजवादीतर्फ लागेका हुन् भने एमालेबाट शान्ता चौधरीले टिकट पाएपछि गंगा चौधरीले हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिएकी हुन् ।

उम्मेदवारी फिर्ता लिने समय आज बुधवार दिउँसो १ बजेसम्म रहेकोमा उनीहरूमध्ये कसैले पनि फिर्ता नलिएपछि तीन जना सहकर्मीबीच प्रतिस्पर्धा निश्चित बनेको हो । शान्ता र मेटमणि चौधरी थारु समुदायको आन्दोलनमा पनि सहकार्य गरेका नेता हुन् ।

गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका उम्मेदवार मेटमणिलाई माओवादी, कांग्रेस, जनमोर्चालगायतका पाँच दलको साथ छ भने एमालेकी शान्ता चौधरी एक्लै होमिएकी छन् । गंगाको दल हाम्रो नेपाली पार्टी भर्खरै खुलेको दल हो ।
२०७४ मा मेटमणि निर्वाचित भएका थिए । आफ्नै निर्वाचन क्षेत्रमा भएकाले उनलाई शान्ता भन्दा केही सहज देखिन्छ । शान्ता भने क्षेत्र परिवर्तन गरेर त्यहाँ पुगेकी हुन् । उनको निर्वाचन क्षेत्र २ हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७