कुश्मा बजारमा जेब्रा क्रसिङ


२२ कार्तिक २०७९, मंगलवार
Parbat kushma 1024x621 1

पर्वत । जिल्ला ट्राफिक कार्यालय पर्वतले सडक सुरक्षाका लागि पर्वतको कुश्मा बजारमा जेब्राक्रसिङ बनाउने अभियान सञ्चालन गरेको छ । साविकको सदरमुकाम कुश्मा बजारभित्र सडक स्तरोन्नति भएसँगै सडकमा यात्रुलाईसमेत सहज रुपमा वारपार गर्न समेत समस्या भएपछि ट्राफिक कार्यालय पर्वतको सक्रियतामा जेब्रा क्रसिङ बनाइएको हो ।

कुश्मा नगरपालिकाको सहयोगमा कुश्मा बजारभित्रका विभिन्न ६ स्थानमा ट्राफिक प्रहरीले जेब्राक्रसिङ बनाएको छ । विशेष गरी ग्रामीण क्षेत्रबाट सदरमुकाममा विविध काम लिएर आउने सर्वसाधरण बढी समस्यामा परेको गुनासो आएपछि जेब्रा क्रसिङ बनाइएको जिल्ला ट्राफिक कार्यालय पर्वतका प्रमुख सुमन न्युरेले जानकारी दिए ।

ट्राफिक प्रहरीले विशेष गरी बढीजसो सेवाग्राही जाने कार्यालयको सम्मुख र विद्यालय क्षेत्रमा जेब्रा क्रसिङ निर्माण गरेको छ । योसँगै पर्वतमा पछिल्लो समय ट्राफिक प्रहरीले सक्रियता बढाएपछि दुर्घटनासमेत न्यूनीकरण भएको छ । व्यवस्थित बसपार्क नहुँदा राजमार्गमा रोकेर राखिने गरिएका सवारी साधन स्थानीय तहको सहयोग र समन्वयमा ट्राफिक कार्यालय पर्वतले नै निर्माणाधीन बसपार्कमा अस्थायी रुपमा स्तरोन्नति गरी व्यवस्थापन गरेको न्यूरेले जानकारी दिए ।

पर्वतमा सञ्चालित साहसिक पर्यटकीय पूर्वाधारका कारण कुश्माबजारमा आन्तरिक तथा बाह्य पर्यटकको समेत चहलपहल बढ्दै गएको छ । बढ्दो जनघनत्वसँगै सवारी दुर्घटना समेत बढ्ने भएकाले सडक सुरक्षाका लागि जेब्राक्रसिङ अत्यावश्यक भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७