रसुवामा निर्वाचनकाे तयारी पूरा


२५ कार्तिक २०७९, शुक्रबार
Matpetika scaled
फाइल फोटो

रसुवा । प्रतिनिधिसभा तथा प्रदेशसभाको आसन्न निर्वाचन सम्पन्न गर्न जिल्लामा आवश्यक तयारी पूरा भएको छ । निर्वाचन आयोगबाट प्राप्त मतपत्र रूजु गर्ने कार्य पूरा भइसकेको, मतपेटिका, स्वस्तिक छाप, स्टाम फाइललगायत सामग्री भाग लगाई तयारी हालतमा राखी सबै प्रकारका व्यवस्थापकीय कार्य सम्पन्न भएको हो ।

सहायक निर्वाचन अधिकृत (उपसचिव) मुना अधिकारी ढकालका अनुसार निर्वाचनका लागि मतदान अधिकृत तथा सहायक मतदान अधिकृत एवं अन्य सहायक कर्मचारीको नियुक्ति तथा केन्द्र तोक्ने काम समेत सम्पन्न भइसकेको छ । पारदर्शी नीति अवलम्बन गर्दै मतदान केन्द्रमा जाने सबै कर्मचारीको नामावली मुख्य निर्वाचन अधिकृतको कार्यालयमा टाँस समेत गरिएको छ ।

निर्वाचनका लागि ५३ अधिकृतस्तर एवं ५२ कार्यालय सहयोगी र रापअन प्रथम तथा द्वितीय श्रेणीका नायब सुब्बा तथा खरिदार सरहका तीन सय ११ सहायक कर्मचारीसमेत गरी कूल चार सय १६ कर्मचारी परिचालन गरिने सहायक निर्वाचन उनले बताए । खटिएका मतदान अधिकृतलाई तालिम प्रदान गरी मतदान केन्द्रमा पठाइने बताइएको छ ।

३४ स्थानका ५२ मतदान केन्द्रबाट जिल्लामा १९ हजार तीन सय ४० महिलासमेत कूल ३९ हजार चार सय ५९ मतदाता, मतदानमा सहभागी हुने जनाइएको छ । यस्तै अस्थायी मतदातामा भने सात सय ९२ जनाको नामावली तयार भएको छ । तीमध्ये नेपाली सेनाका ७२, सशस्त्र प्रहरी बलका ५७, नेपाल प्रहरीका ३७, निजामतिलगायत विभिन्न सरकारी निकायका छ सय १२ कर्मचारीका साथै कारागारका १४ कैदीबन्दीले मतदान गर्न पाउने जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिए ।

एक निर्वाचन क्षेत्र र दुई प्रदेश रहेको यस जिल्लामा पाँच गाउँपालिमा छन् । ५२ मतदान केन्द्रमध्ये सबैभन्दा बढी मतदाता रहेको आमाछोदिङ्मो गापाको वडा नं ३ गतलाङस्थित नेपाल राष्ट्रिय मावि मतदान केन्द्रबाट एक हजार ४२ जनाले मतदान गर्ने र सबैभन्दा घटी गोसाइँकुण्ड गाउँपालिका वडा नं २ टिमुरे मतदान केन्द्रमा चार सय ६५ मतदाताले मतदान गर्ने भएका छन् ।

मतपत्रलाई सहीरूपमा सदुपयोग गराउन मतदाता शिक्षा अगाडि बढिरहेको, बिहीबारसम्म तीन स्थानमा नमूना मतदान गराउने कार्य सम्पन्न भइसकेको र मतदान केन्द्रमा आवश्यक पर्ने सबै प्रकारका सामग्री प्याकिङ गर्ने कामसमेत सम्पन्न भएको जिल्ला निर्वाचन अधिकारी थापाले जानकारी दिए ।

यस्तै निर्वाचनका लागि आवश्यक पर्ने यथेष्ट सुरक्षा व्यवस्था मिलाइएको छ भन्दै प्रमुख जिल्ला अधिकारी नवराज जैसीले निर्वाचनमा सुरक्षाका लागि पहिलो पङ्क्तिमा नेपाल प्रहरी, दोस्रो पंक्तिमा सशस्त्र प्रहरी र तेस्रो पङ्क्तिमा नेपाली सेना परिचालन हुने भएकाले सुरक्षा व्यवस्थामा कुनै कमी नआउने हुँदा निर्धक्कसँग मतदान कार्यमा शरिक हुन आम मतदातामा आग्रह गरे ।

यसैगरी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारका क्रममा निर्वाचन आचारसंहिता उल्लङ्घनका विषयमा अनुगमनका कार्य समेत भइरहेको जनाइएको छ । टेलिफोनमार्फत आएका केही सामान्य गुनासालाई छलफलका माध्यमबाट स्थानीयस्तरमै निराकरण गरिसकिएकाले जिल्लामा आचारसंहिता उल्लङ्घनका समस्या खासै नभएको प्रमुख कोष नियन्त्रक एवं आचारसंहिता जिल्ला अनुगमन संयोजक हेमराज पौडेलले बताए ।

अन्य क्षेत्रको तुलनामा रसुवा अत्यन्तै शान्त रहने जिल्ला भएका कारण सबै दलका प्रतिनिधि एवं उम्मेदवार संयमरुपले मतदाताको घरघरमा पुगेर आआफ्नो पक्षमा मत माग्ने काम अगाडि बढिरहेको नागरिक समाजको प्रतिक्रिया थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७