बागलुङ-१ मा केसी र डा. पाठकबीच कडा प्रतिस्पर्धा


२८ कार्तिक २०७९, सोमबार
chitra bdr kc surya pathak

बागलुङ । बागलुङ क्षेत्र नम्बर १ प्रतिनिधिसभाको निर्वाचनमा एउटा नयाँ रोचक प्रतिस्पर्धा हुँदैछ । यो निर्वाचन पछिल्लो समय पेचिलो बन्दै गएको बताइएको छ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी सत्ता गठबन्धनका तर्फबाट चुनावी मैदानमा आएपछि यहाँको निर्वाचनलाई रोचक र पृथक ढङ्गले हेरिएको छ ।

केसीले आफू गठबन्धनको सूत्रधार रहेको बताउँदै निर्वाचनमा होमिँदै गर्दा नेकपा एमालेका युवा नेता डा. सूर्य पाठकले केसीलाई चुनौती दिँदै आएका छन् । आफ्नो जनआधार रहको क्षेत्र मान्दै आएको राष्ट्रिय जनमोर्चाले गठबन्धनको सहारामा पाठकलाई पछि पार्ने योजनामा छ । तर पाठक पनि पछिल्लो समय एमालेको राष्ट्रिय राजनीतिमा जोडिएकाले उनलाई पनि कमजोर उम्मेदवारका रुपमा आँकलन गर्न नमिल्ने विश्लेषकहरु बताउँछन् । केसीलाई पछि पार्दै संसदमा दोहोरिने दाउमा छन् पाठक ।

निर्वतमान सांसद रहेका डा. पाठकले पछिल्लो समय संसदमा उठाएका आवाजहरुले आफूलाई मतदाताले रोजेको बताउँछन् । पाठकले कालीगण्डकी दोहोन, मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको ढिलासुस्तीसहित बागलुङका समस्याहरु तत्कालै संसद्मा उठाएका कारण युवा माझ लोकप्रिय बनाएको छ ।

उनले आफूलाई युवा मतदाताहरुको साथ रहेको दाबी गर्छन् । आफूले यस क्षेत्रमा सांसद विजयी भएपछि जिल्ला नछोडेको र जनताका समस्याहरु बुझ्न सकेको भन्दै आगामी पाँच वर्षका लागि पनि आफ्ना सामु धेरै योजना रहेको र त्यसैका लागि आफूले यो कार्यकाल पनि यहाँका मतदाताको आश गरेको उनको दाबी छ ।

उता राजमोको आधार क्षेत्रमा गठबन्धनको दरिलो साथ पाएका कारण सजिलै चुनाव जित्ने केसीको पनि दाबी रहेको छ । स्थानीय निर्वाचनसँग अहिलेको निर्वाचनको अङ्क गणित नमिल्ने र अहिलेको निर्वाचनमा राष्ट्रिय विषयमा जनताको आवाज संसदमा लैजाने र बागलुङका विकासको आधार खडा गर्ने पक्षमा जनमत प्राप्त हुने पाठकको भनाइ छ ।

अघिल्लो सांसदको कार्यकालमा आफूले खेलेको संसदीय भूमिका र बागलुङको विकास निर्माणसँग आफू प्रत्यक्ष जोडिएका कारण आफूले निर्वाचन जित्नेमा ढुक्क रहेको पाठकको दाबी रहेको छ । यस्तै केसी पनि गठबन्धनको बलियो जगमा चुनावी मैदानमा उत्रिएको र आफ्नो पक्षमा नै जनमत रहेको दाबी गर्छन् । राष्ट्रियस्तरका नेताको रुपमा परिचित चित्रबहादुर केसीलाई जसरी पनि विजयी गराउनुपर्ने सत्ता गठबन्धनका दलका बीचमा दबाब छ ।

पाँच दलीय गठबन्धनको मतभार आफ्ना प्रतिस्पर्धीको भन्दा धेरै बढी भएका कारण आफूले यस पटकको निर्वाचन सजिलै जित्ने केसीको भनाइ छ । ‘पहिलो कुरा त बागलुङ जनमोर्चाको आधार भएको स्थान हो, त्यसमध्ये कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीको भोट थपिदा मैले फराकिलो मतान्तरले निर्वाचन जित्ने छु’, केसीले भने, ‘यो निर्वाचन संविधानको रक्षा गर्ने र संविधान मास्नेबीचको प्रतिस्पर्धा हो योे, यस पटकको निर्वाचनमा प्रतिगमनकारीहरुलाई जनताले चिनाइ दिनेछन् ।’

गठबन्धनको मतभार धेरै भएको यस क्षेत्रमा नेकपा एमालले विभिन्न योजना लिएर गठबन्धका उम्मेदवारभन्दा आफू अब्बल हुने धेरै प्रयत्न गरेको छ । नेपाली राजनीतिमा पुस्तान्तरणको बहस चलिरहेको अवस्थामा युवालाई जिताउनु पर्छ भन्दै प्रचारमा जुटेको छ एमाले । सत्ता गठबन्धनको तालमेलले मात्रै यस क्षेत्रबाट निर्वाचन जित्न सकस हुने र जनमोर्चा बाहेकका अरु दलहरुको सबै मत केसीलाई नआउने पाठकको दाबी छ भने उता केसीले गठबन्धनको पूर्ण कार्यान्वयन गर्दा आफूले सजिलै चुनाव जित्ने बताउँछन् ।

विसं २०५६ र विसं २०६४ को पहिलो संविधानसभा चुनावमा भारी मतका साथ विजयी भएका केसी विसं २०७० को चुनावमा समानुपातिक सांसद बनेका थिए । २०७४ मा पाठकले वाम गठबन्धनको बलमा ३३ हजार छ सय ५७ मत ल्याई विजय हासिल गरेका थिए भने प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी चम्पादेवी खड्काले २० हजार छ सय १६ मत प्राप्त गरेकी थिइन् । त्यतिबेला पाठकलाई माओवादीको मत थियो भने अहिले त्यो मत केसीको गठबन्धनमा आबद्ध भएको बताइन्छ ।

बागलुङ क्षेत्र नम्बर १ अन्तर्गत दुई नगरपालिका र दुई गाउँपालिका गरी चार स्थानीय तह पर्छन् । जसमा बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, वरेङ गाउँपालिका र काठेखोला गाउँपालिका समेटिएका छन् । स्थानीय तहमा बागलुङ नगरपालिका प्रमुख कांग्रेस र उपप्रमुख माओवादीले जितेको छ भने जैमिनी नगरपालिका प्रमुख जनमोर्चाले र उपप्रमुख कांग्रेसले जितेको छ ।

यस्तै काठेखोला गाउँपालिका प्रमुख कांग्रेस र उपप्रमुख जनमोर्चाले जितेको छ । भने वरेङ गाउँपालिका प्रमुख जनमोर्चा र उपप्रमुख कांग्रेसले जितेको छ । केसी र पाठकबाहेक राप्रपाका लक्ष्मीप्रसाद सापकोटा, कांग्रेस बीपीका शिवलाल सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेल र स्वतन्त्रबाट चन्द्रबहादुर क्षेत्री पनि यस क्षेत्रको चुनावी मैदानमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७