साढे १२ हजार मतान्तरसहित देउवा सातौं पटक निर्वाचित

छैटौं पटक प्रधानमन्त्री बन्ने बाटो खुला


७ मंसिर २०७९, बुधबार
deuwa 1 3

डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारी मतान्तरसहित निर्वाचित भएका छन् । डडेल्धुराबाट निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकाललाई करिब साढे १२ हजार मतान्तरसहित पराजित गर्दै देउवा सातौं पटक निर्वाचित भएका हुन् ।

देउवाले २५ हजार ५३४ मत ल्याउँदा ढकालले १३ हजार ४२ मत प्राप्त गरे । नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लले ७ हजार ५३५ मत ल्याए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका लागि मुलुकको छैटौं पटक प्रधानमन्त्री हुने बाटो खुलेको छ । बुधबार बिहानै भारी मतान्तरका साथ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएसँगै उनलाई छैटौं पटक प्रधानमन्त्री हुने बाटो खुलेको हो ।
प्रधानमन्त्री समेत रहेका सभापति देउवा आफूलाई ज्योतिषले ७ पटक प्रधानमन्त्री बन्ने भविष्यवाणी गरेको बताउँदै आएका छन् । यद्यपि, अब गठन हुने सरकारको नेतृत्व लिनका लागि उनले आफ्नै दलभित्र संसदीय दलको नेता चुनिन पर्ने हुन्छ ।

संसदीय दलको नेता चयनमा सभापति देउवाका लागि महामन्त्री गगन थापा चुनौतीका रुपमा देखिएका छन् । काठमाडौं–४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित थापाले अब प्रधानमन्त्रीका लागि दलको नेतामा प्रतिस्पर्धा गर्ने घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७