गृहमन्त्रीमाथि अनुसन्धान गर्न संसदीय छानविन समिति नबने संसद चल्दैन : कोइराला

‘देशलाई निकास दिन कांग्रेस–एमाले एक ठाउँ उभिनु पर्छ’


२२ बैशाख २०८१, शनिबार
shekhar

बाँके । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्र नै नरहे के का लागि राजनीति गर्ने भन्दै आफू र राजनीतिक दलभन्दा देश माथि छ भन्ने कुरा आत्मसात गर्ने बेला आएको बताएका छन् । कोइरालाले चौतर्फी रुपमा देश अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेकाले नेताहरुले देशको माटो र जनतालाई सम्झेर संवेदनशील र जिम्मेवार हुनुपर्ने बताए ।

निर्वाचन प्रणाली नै अहिलेको समस्याको मुल जड भएको बताउँदै कोइरालाले निर्वाचन प्रणाली परिवर्तन गरेर देशलाई निकास दिन संघीय संसदको पहिलो दल कांग्रेस र दोस्रो दल एमाले एक ठाउँमा उभिनुपर्ने बताए । २०६४ को संविधानसभापछि लगातार चार जना कम्युनिस्ट प्रधानमन्त्री बन्दा समेत संविधान बन्न नसकेको प्रसङ्ग उल्लेख गर्दै कोइरालाले भने, ‘२०७० को दोस्रो संविधानसभामा जब कांग्रेस र एमाले पहिलो र दोस्रो पार्टी भए, कांग्रेस र एमाले एकै ठाउँमा उभिए, अनि संविधान जारी भयो ।’

कोइरालाले जब देशमा अप्ठ्यारो परिस्थिति आउँछ तब कांग्रेस र एमाले एकै बिन्दुमा उभिएर समस्या समाधान गरेको बताए । बाँकेको कोहलपुरमा आयोजित नेपाली कांग्रेस बाँके क्षेत्र नं– १ को सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले सहकारी ठगीमा मुछिएका गृहमन्त्री रबि लामिछानेको अनुसन्धानका लागि संसदीय छानबिन समिति नबनेसम्म कांग्रेसले संसद चल्न नदिने पनि बताए ।

‘हामीले गृहमन्त्रीको राजीनामा मागेका होइनौं, संसदीय छानबिन बनाऔँ सहकारी ठगीमा उहाँको संलग्नता नदेखिए उहाँ गृहमन्त्री रहिरहनु हुनेछ तर संसदीय समिति बनाउन सरकार किन डराएको ?,’ कोइराला प्रश्न गरे । कोइरालाले पार्टीका सबै आपसी मनमुटाव र नमिठा बिगत बिर्सेर पार्टी संगठनमा एकजुट हुन स्थानीय नेता एवं कार्यकर्तालाई निर्देशन दिए । पार्टी एक भए कुनै पनि निर्वाचनमा कांग्रेसले गठबन्धनका नाममा कसैको बैशाखीको सहारा लिनु नपर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७