वाग्मती सफाइको पाँच सय हप्ता : २० हजार टन फोहर निकालियो


२५ मंसिर २०७९, आईतवार
Bagmati 1
फाइल फोटो

काठमाडौं । काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत वाग्मती नदी सफाइको पाँच सय हप्ता नाघेको छ । यस अवधिमा सफाइ गरेर वाग्मतीबाट करिब २० हजार टन फोहर निकालिएको छ ।

विसं २०७२ जेठ ५ गते वाग्मती सफाइ महाअभियान सुरु भएको हो । त्यसयता प्रत्येक हप्ता शनिबार बिहान दुई घण्टा सफाइ गरिँदै आएको छ । साप्ताहिकरुपमा यसरी सफाइ गर्दा पनि अत्यधिक फोहर निकाल्ने गरिएको सफाइ महाअभियानले जनाएको छ । सफाइ महाअभियान सुरु भएको पाँच सय हप्ता पूरा हुँदा पनि वाग्मती पूर्णरुपमा सफा हुन सकेको छैन । सर्वसाधारणले वाग्मतीमा यसरी फोहर फाल्ने हो भने जति सफाइ गरे पनि कहिल्यै सफा बन्दैन । फोहर फाल्नेलाई जरिवाना गरिने व्यवस्था पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन ।

महाअभियान सुरु भएको साढे सात वर्षमा करिब १५ लाख अभियानकर्मीले स्वयंसेवकका रूपमा वाग्मती नदीको फोहर सङ्कलन गरेका छन् । स्वतःस्फूर्तरुपमा स्वयंसेवी अभियानमा सहभागी हुँदै आएका छन् । सफाइमा संलग्नलाई विभिन्न आरोप लगाउने काम भइरहेको अभियानकर्मी राम साह बताउँछन् ।

सफाइ महाअभियान चलेपछि नदी किनारमा करिब १० हजारभन्दा बढी बिरुवा रोपिएको छ । वृक्षरोपणका कारण नदी किनारमा हरियाली छाएको छ । जागरणमूलक वाग्मती सफाइ महाअभियानबाट प्रभावित भएर मुलुकभर १०० भन्दा बढी स्थानमा सफाइ अभियान सुरु गरिएको छ । यसबाट नदीको सौन्दर्य बढेको साह बताउँछन् ।

सफाइ महाअभियानबाट नदी किनारको अतिक्रमित जग्गा फिर्ता गरिएको छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिमार्फत वाग्मती नदी किनारको दायाँ बायाँ २७ किलोमिटर ढल निर्माण गरिएको छ । एशियाली विकास बैंकको ऋण सहयोगमा सुरु भएको वाग्मती सौन्दर्यीकरण कार्यक्रम नदी किनारमा रहेका सुकुम्बासीका कारण प्रभावित भएको छ ।

अधिकार सम्पन्न वाग्मती समितिको सञ्चालक सदस्य समेत रहेकी सफाइ अभियानकर्मी डा. माला खरेल नदी किनारका सुकुम्बासीको व्यवस्थापन गरेर सुन्दरता बढाउन सूचना सार्वजनिक गरी काम भइरहेको बताउँछिन् । काठमाडौँ महानगरपालिकाको समेत सहयोग लिएर छिटो सुन्दरता बढाउनका लागि नदी किनारका सार्वजनिक जग्गा खाली गर्न लागिएको उनले जानकारी दिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७