मन्त्री समक्ष श्रमिकको गुनासो : क्यानडा लैजाने भन्दै ६ लाख ठगे


२५ मंसिर २०७९, आईतवार
sher bahadur kuwar

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पुनः ‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रम सञ्चालन गरेको छ । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका कारण स्थगित गरिएको कार्यक्रम आइतबारदेखि पुनः सञ्चालन गरिएको हो ।

मन्त्रालयको कल सेन्टरमार्फत श्रमिकहरूले श्रममन्त्री शेरबहादुर कुँवरलाई प्रत्यक्षरूपमा आफ्ना गुनासा, समस्या र सुझाव राखेका छन् । आइतबारको कार्यक्रममा १० जनाभन्दा बढी श्रमिकले वैदेशिक रोजगारीमा ठगिएको गुनासो मन्त्रीसमक्ष राखेका थिए ।

मन्त्री कुँवरसँग श्रमिकहरूले सम्झौताअनुसार विदेशमा आफूहरूले तलब सुविधा नपाएको, विदेश पठाउँछु भनेर सात लाख ५० हजार रुपैयाँसम्म पैसा लिएको गुनासो सुनाएका थिए । संयुक्त अरब इमिरेट्स (यूएई), मलेसिया, साउदीलगायत देशमा रोजगारीका लागि जाँदा ठगिएको उनीहरूको भनाइ छ । सुर्खेतका एक व्यक्तिले आफूलाई क्यानाडा पठाइदिने भन्दै करिब ६ लाख रुपैयाँ ठगेको गुनासो मन्त्रीसमक्ष राखेका थिए ।

श्रमिककै गुनासा र समस्याहरू सुनेपछि मन्त्री कुँवरले वैदेशिक रोजगारीका लागि विदेश जानुअघि जान लागेको देश, आफूले गर्ने काम, पाउने सेवा सुविधा, पठाउने म्यानपावर वा व्यक्तिका बारेमा राम्ररी बुझ्ने, जानकारी लिने अनि कसैलाई पैसा तिरेको भए त्यसको प्रमाण राख्ने लगायत विषयमा ध्यानु दिनुपर्नेमा जोड दिए । उनले श्रमिकका समस्या र सवालबारे तत्कालै बुझेर समाधानका लागि वैदेशिक रोजगार विभाग र बोर्डलाई निर्देशन दिएका थिए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७