विश्वकप फुटबलको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने


२९ मंसिर २०७९, बिहीबार
messi 1

काठमाडौँ । विश्वकप फुटबलको उपाधिका लागि साविक विजेता फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन्। बुधबार राति मोरक्कोलाई २-० ले पराजित गर्दै फ्रान्सले लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको हो।

अर्जेन्टिना यसअघि मंगलबार राति क्रोएसियालाई पराजित गर्दै फाइनलमा पुगिसकेको छ। यसअघि यी दुवै टोलीले समान २ पटक विश्वकप जितेका छन्।

१९९८ मा पहिलो पटक ब्राजिललाई पराजित गर्दै उपाधि जितेको फ्रान्सले गएको विश्वकपमा क्रोएसियालाई पराजित गर्दै दोस्रो पटक उपाधि उचालेको थियो।

अर्जेन्टिनाले १९७८ मा नेदरल्याण्ड्सलाई पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो। १९८६ मा जर्मनीलाई पराजित गर्दै अर्को उपाधि थप्यो। त्यसपछि २ पटक फाइनलमा पुगे पनि अर्जेन्टिनाले उपाधि थप्न सकेको छैन।

१९९० र २०१४ मा जर्मनीसँग फाइनलमा पराजित भएको थियो। त्यसअघि पहिलो विश्वकपमा पनि अर्जेन्टिना फाइनलमा पुगेको थियो। यो सँगै अर्जेन्टिना छैटौं पटक विश्वकपको फाइनल खेल्न लागेको हो।

विश्वकप फुटबलमा यी दुई टोली तेस्रो पटक भेट भएका हुन्। पहिलो पटक १९७८ मा समूह चरणमा भेट हुँदा अर्जेन्टिनाले फ्रान्सलाई २–१ ले पराजित गरेको थियो। गएको विश्वकपमा अन्तिम १६ मा भेट भएका थिए। जसमा फ्रान्सले अर्जेन्टिनालाई ४–३ ले पराजित गरेको थियो।

फाइनलसम्म आइपुग्दा यी दुवै टोली एक एक खेलमा पराजित भएका छन्। समूह चरणको पहिलो खेलमा अर्जेन्टिना साउदी अरेवियासँग पराजित भएको थियो। समूह चरणकै अन्तिम खेलमा फ्रान्स ट्युनिसियासँग पराजित भएको थियो।

अन्तिम १६ मा फ्रान्सले पोल्याण्डलाई र अर्जेन्टिनाले अष्ट्रेलियालाई पराजित गरेको थियो। क्वार्टरफाइनलमा फ्रान्सले इंग्ल्याण्डलाई पराजित गरेको थियो। अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई पराजित गरेको थियो।

गोल्डेन बुटमा मेस्सीकै अग्रता
जारी विश्वकप फुटबलमा यी दुवै टोलीका ४ फरवार्ड गोल्डेनबुटको दाबेदार समेत छन्। अर्जेन्टिनाका मेस्सी र फ्रान्सका एम्बाप्पेले समान ५ गोल गर्दा फ्रान्सका जिरुड र अर्जेन्टिनाका अल्भारेजले समान ४ गोल गरेका छन्।
गोल्डेन बुटमा लिओनेल मेस्सी र किलियन एमबाप्पेबीच प्रतिस्पर्धा छ । दुवै खेलाडीले ५-५ गोल गरेका छन् । असिस्टको आधारमा लिओनेल मेस्सी सूचिको शीर्षस्थानमा छन् । फिफाको नियम अनुसार गोल्डेन बुट विजेताको निर्धारणमा दुई वा सो भन्दा बढी खेलाडीको समान गोल भएको अवस्थामा असिस्ट संख्या गणना हुनेछ । असिस्ट पनि बराबरी भए कम मिनेट खेल्ने खेलाडीले गोल्डेन बुट पाउनेछन् । हाल मेस्सीको ३ असिस्ट र एमबाप्पेको २ असिस्ट छ ।

मेस्सीले प्रतियोगिताको ६ खेल खेल्दा एक खेलमा मात्र गोल गर्न सकेका छैनन् । पहिलो खेलमा साउदीविरुद्ध गोल गरेका मेस्सीले दोस्रो खेलमा मेक्सिकोविरुद्ध १ गोल र १ असिस्ट दिएका थिए । तेस्रो खेलमा पोल्यान्डविरुद्ध उनले गोल गर्न सकेनन् । नकआउट चरणको सबै तीन खेलमा मेस्सीले गोल गरेका छन् । अष्ट्रेलियाविरुद्ध एक गोल गरेका मेस्सीले त्यसयता नेदरल्यान्ड्स र क्रोएसिया दुवै विरुद्ध १ गोल र १ असिस्ट दिएका छन् ।

यता फ्रान्सका फरवार्ड एमबाप्पेले भने ६ मध्य तीन खेलमा कुनै गोल र असिस्ट दिन सकेका छैनन् । नकआउट चरणको पछिल्लो दुई खेलमा उनी गोलविहिन नै छन् । पहिलो खेलमा अष्ट्रेलियाविरुद्ध १ गोल र १ असिस्ट दिएका उनले डेनमार्कविरुद्ध २ गोल गरे । पोल्यान्डविरुद्ध जितमा २ गोल र १ असिस्ट गरेका एमबाप्पे इंग्ल्यान्ड र मोरक्कोविरुद्ध भने गोल गर्न सकेनन् ।

त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले प्राप्त गर्ने गोल्डेन बलमा खेलाडीको सबै प्रदर्शन हेरिन्छ । यसमा खेलाडीले आफ्नो टोलीका लागि गरेको योगदान मापन गरिन्छ । हालको अवस्थामा मेस्सी नै गोल्डेन बलको दावेदार रहेका छन् । मेस्सी सर्वाधिक असिस्टको सुचिमा पनि ग्रिजमनसँग बराबरीमा छन् । मेस्सी र ग्रिजमनसँगै पोर्चुगलका ब्रुनो फर्नान्डेस र इंग्ल्यान्डका ह्यारी केनले ३-३ असिस्ट दिएका छन् । केन र ब्रुनो प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७