विश्वकप फुटवल : तेस्रो स्थानका लागि आज मोरक्को र क्रोएसिया भिड्दै


२ पुष २०७९, शनिबार
football22022 12 17 06 16 29

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ को तेस्रो स्थानका लागि आज (शनिबार) मोरक्को र क्रोएसिया भिड्दै छन् । विश्वकपमा सनसनीपूर्ण नतिजाका साथ सेमिफाइनलमा पुगेको मोरक्को फ्रान्ससँग २–० ले पराजित हुँदै तेस्रो स्थानको प्लेअफ खेल्नु परेको हो । खलिफा अन्तर्राष्ट्रिय मैदानमा आज मोरक्को र क्रोएसिया तेस्रो स्थान हात पार्दै विश्वकप समाप्त गर्न चाहन्छन् ।

विश्वकपमा पहिलो अफ्रिकन राष्ट्रका रूपमा मोरक्को अन्तिम चारमा पुगेको थियो । अर्कोतिर, सेमिफाइनलमा क्रोएसिया अर्जेन्टिनासँग पराजित भयो । यो नतिजासँगै क्रोएसियाको लगातार दोस्रो पटक फाइनल खेल्ने योजना टुङ्गियो ।

सन् २०१८ को फाइनलमा उपविजेता भएको क्रोएसिया चार वर्षपछि तेस्रो स्थानका लागि खेल्दै छ । लुका मोड्रिकको कप्तानीमा रहेको क्रोएसिया फाइनलमा नपुगे पनि तेस्रो स्थान हासिल गर्न चाहन्छ । सन् १९९८ मा पहिलो पटक क्रोएसियाले तेस्रो स्थानको प्ले अफ खेलेको थियो । त्यसबेला क्रोएसिया नेदरल्याण्ड्ससँग २–१ ले पराजित भएको थियो ।

उत्तर अफ्रिकन टोली मोरक्को फिफा विश्वकपको कसैले नसोचेको नतिजा निकाल्न सफल भएको छ । सेमिफाइनल बाहेक अन्य कुनै पनि खेलमा मोरक्कोको पोस्टमा विपक्षी खेलाडीले गोल गर्न सकेका थिएनन् । मोरक्कोको बलियो रक्षापंक्ति फ्रान्सका थिओ हर्नान्डेज र रान्दल कोलो मुआनीले तोडे । हर्नान्डेज र मुआनीको गोलसँगै वालिद रेग्रगुईको प्रशिक्षणमा रहेको मोरक्को पहिलो पटक विश्वकप फाइनल खेल्ने सपनाबाट वञ्चित भयो ।

मोरक्कोले प्रतियोगितामा पाँच ‘क्लिन सिट’ राखेको छ । अर्जेन्टिनाविरुद्ध खेल्दा क्रोएसियाका मिडफिल्डर मार्सेलो ब्रोजोभिक घाइते भएका थिए । उनी खेल्ने वा नखेल्नेमा टुङ्गो छैन । यसैगरी, रक्षक जोस्को भार्डिओस, बोर्ना सोसालगायत खेलाडी समेत घाइते छन् । कप्तान मोड्रिकसहित माथेओ कोभासिच र गोलरक्षक डोमिनिक लिभाकोभिचको उत्कृष्ट प्रदर्शनले क्रोएसियाका प्रशिक्षक ज्लात्को डालिकलाई केही सहज हुनेछ ।

मोरक्कोका कप्तान रोमाइन साइस र बायर्न म्युनिखका नोउसाइर सेमिफाइनलमा घाइते भएका थिए । तेस्रो स्थानको खेलमा उनी खेल्ने वा नखेल्ने निश्चित छैन । केही घाइते खेलाडीका बाबजुद प्रशिक्षक वालिद अन्य खेलाडीका भरमा क्रोएसियाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्नेमा आशावादी छन् ।

दुईबीचको पहिलो भेट सन् १९९६ मा भएको थियो । निर्धारित समय २–२ को बराबरी सकिँदा खेल पेनाल्टी सुटआउटमा क्रोएसियाले जितेको हो । जुन खेलमा तीन रातो कार्ड देखाइएको थियो । यसै विश्वकपको समूह चरणमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७