सरकारको लक्ष्यभन्दा १३ अर्ब कम राजश्व संकलन, गैरकर पनि घट्यो


४ बैशाख २०७५, मंगलवार
aartha

काठमाडौं, ४ बैसाख : ओली सरकारका अर्थमन्त्री डा. यवराज खतिवडाले भन्सार मूल्याङ्कनमा कडाइ गरे पनि राजश्व संकलनमा यसको कुनै प्रभाव देखिएन ।aartha
अर्थमन्त्रीको यो कदमले राजश्व संकलन वृद्धि हुने अपेक्षा लिइए पनि सरकारको राजश्व संकलन लक्ष्य पूरा हुन सकेन । चैतसम्म लक्ष्यभन्दा करीब १३ अर्ब कम राजश्व उठेको छ । सरकारले चालु आथिर्क वर्षको पहिलो ९ महिनासम्म ४ खर्ब ९२ अर्ब राजश्व उठाउने लक्ष्य निर्धारण गरेको थियो । उठ्यो करीब ४ खर्ब ७९ अर्ब । अब आर्थिक वर्षको अन्तिम समयमा राजश्व उठाउने लक्ष्य भेट्टाउने सम्भावना कमजोर बनेको छ ।

लक्ष्य र असुलीको खाडल भने १५ अर्ब माथि नजाओस् भन्नेमा सरकार केन्द्रित रहेको एक राजश्व अधिकारीले बताएका छन् । राजश्व सचिव शिशिर ढुङ्गाना लक्ष्यभन्दा करीब १२ अर्बभन्दा कम राजश्व उठ्न नसकेको स्वीकार्दै सरकारले कसरी उठाउने भन्ने योजना बनाइसकेको बताउँछन् । चैतसम्म आन्तरिक राजश्व विभागले करीब २ खर्ब ५ अर्ब रुपैयाँ राजश्व उठाएको छ । उसले लक्ष्यअनुसार २ खर्ब १२ अर्ब रुपैयाँ संकलन गर्नुपथ्र्यो ।
भन्सार विभागको पनि हालत उस्तै छ । उसले चैतसम्म २ खर्ब ३४ अर्ब रुपैयाँ भन्सार असुल्नु पर्नेमा मुस्किलले करीब २ खर्ब १९ अर्ब रुपैयाँ जम्मा गर्न सकेको छ ।

फागुनसम्म गैरकर राजश्वले सरकारलाई थोरै राहत दिएको थियो । तर, चैतमा गैरकर राजश्व असुली पनि आधा घटेको छ । समग्रमा अनुमानितभन्दा ७ अर्ब बढी उठेपछि चैतसम्म करिब ५३ अर्ब गैरकर राजश्व सरकारी ढुकुटीमा दाखिला भएको छ । यो अवधिमा ४६ अर्ब रुपैयाँ उठाउने लक्ष्य थियो । राजश्व संकलनको अवस्थालाई हेर्दा चैत महिनाले पनि सरकारलाई निरास बनायो । ८२ अर्ब राजश्वको लक्ष्य लिएको सरकारले मुस्किलले करीब ७० अर्ब पनि उठायो । यसमा आन्तरिक राजश्व सबा ३६ अर्ब रह्यो भने भन्सार करीब २७ अर्ब मात्रै ।

दुबै विभागले लक्ष्य भेटाउन सकेनन् । चैत महिनामा गैरकर राजश्वको उठ्तीमा पनि समस्या देखियो, जसले सरकारलाई लक्ष्य र असुलीको खाडल झनै बढ्ने डर सिर्जना गरिदिएको छ । गत वर्षको बजेट निर्माणमा क्रममा कर बढाउने स्पष्ट आधार तयार नगर्दा यो समस्या आएको एक भन्सार अधिकारी बताउँछन् । ‘राजश्व असुली बढाउने लक्ष्य राखेपछि त्यसैअनरुप दर र दायर फराकिलो पार्नुपथ्र्यो । नियमित रुपमा राजश्व असुलेर बढ्छ भन्ने अनुमान नै गलत थियो,’ ती अधिकारी भन्छन् । राजश्व सचिव शिशिर ढुङ्गाना भने त्यसलाई स्वीकार्दैनन् । उनले भन्सारको क्लेयेरेन्समा ढिलाई नहुँदा पनि यस्तो समस्या आएको बताए । ‘हामीले ग्रोथरेटका आधारमा लक्ष्य तोकेका थियौं । राजश्व लक्ष्यअनुसार उठ्छ’ उनी भन्छन्, ‘हामीले प्लान बनाइसक्यौं । अब विभागहरुलाई योजनाअनुरु सक्रिय बनाउँछौं ।’

‘कोलकत्तामा १५ सय कन्टेनरहरु अड्किएका छन् । त्यो आएपछि लक्ष्यअनुरुप भन्सार राजश्व उठ्न समस्या पर्दैन,’ सचिव ढुङ्गानाले भने । राजश्व असुलीको लक्ष्य भेट्टाउन सरकारले सबै रणनीतिहरु लगाउने उनी बताउँछन् । ‘हामी यो समस्यालाई स्पेशल ट्रिटमेन्ट गर्छौं, जग्गको रजिष्ट्रेशन शुल्क नआएर पनि थोरै समस्या देखिएको हो,’ सचिव ढुङ्गाना भन्छन् । उनी असार सकिंदासम्म लक्ष्यअनुसार ७ खर्ब ३० अर्ब राजश्व उठाउन अर्थ मन्त्रालय प्रतिवद्ध रहेको बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७