सरकारको आम्दानी भन्दा खर्च बढी, तत्काल खर्च गर्न मिल्ने रकम अभाव


२० पुष २०७४, बिहीबार
aartha

काठमाण्डौं : सरकारले आर्थिक वर्षको ६ महिनामा आम्दानी भन्दा झण्डै एक खर्ब बढी खर्च गरेको छ । आम्दानी भन्दा खर्च बढी भएपछि सरकारको ढुकुटी रित्तो हुने अवस्थामा छ ।aartha

अहिले सरकारसँग तत्काल खर्च गर्न मिल्ने रकमको सीमा साँघुरो बन्दै गएको छ । सरकारी आम्दानी र खर्चको विवरण राख्ने महालेखा नियन्त्रकको कार्यालयका अनुसार आर्थिक वर्ष साउनदेखि पुस १९ गतेसम्ममा सरकारी आम्दानी भन्दा खर्च ९९ अर्ब रुपैयाँले बढी छ । पछिल्लो छ महिनामा सरकारले ३ खर्ब ७३ अर्ब ६ करोड ४१ लाख रुपैयाँ खर्च गरेको छ । यही समयमा २ खर्ब ७३ अर्ब ९४ करोड ६१ लाख १५ हजार रुपैयाँ राजश्व उठाएको छ । त्यस्तै १ खर्ब ९ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको छ । यो अविधमा सरकारले कुनै वैदेशिक सहायता र ऋण पाएको छैन । यसरी सरकारी ढुकुटीमा खर्च गर्न मिल्ने ९ अर्ब रूपैयाँ मात्र छ ।

यसपालि सरकारको मुख्य खर्च चुनाव गर्न, विकास आयोजना सञ्चालन गर्न, स्थानीय तहमा अनुदान दिन, सरकारी ऋणको साँवा ब्याज तिर्न र केही विकास आयोजनामा भएको छ । त्यस्तै मन्त्रिपरिषदबाट निर्णय भएर पछिल्लो छ महिनामा करीब एक अर्ब रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । प्रत्येक वर्षभन्दा यसपालि चुनावको खर्च र स्थानीय तहमा गएको अनुदान थप भएकोले सरकारी ढुकुटीमा पैसा कम भएको जनाइएको छ । सरकारी ढुकुटीमा पैसा कम भएपछि त्यसको सिधा असर प्रदेश सरकारको भौतिक संरचना निर्माणमा पर्न सक्छ ।

सरकारले प्रत्येक प्रदेशमा तत्काल एक–एक अर्ब रुपैयाँ पठाउने निर्णय गरेको छ । तर सरकारसँग खर्च गर्न मिल्ने रकम अभाव भएपछि थप श्रोतको व्यवस्थापन नहुञ्झेल त्यो रकम निकासा सम्भव देखिन्न । सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका रणनीतिक सडक तथा राजमार्गको निर्माणको भुक्तानी गर्न सकेको छैन।काम सकेर भुक्तानी लिन बिल बुझाएका निर्माण व्यवसायीको पैसा सरकारले तिर्न सकेको छैन । अर्थ सचिव शंकरप्रसाद अधिकारी बजेटमा व्यवस्था भएका खर्चको भुक्तानी अहिलेसम्म नरोकिएको बताएका छन् । ‘तर बजेटमा व्यवस्था नभएको रकम भने अहिले तिर्न सकिंदैन’–उनले भने । पुस महिनामा आयकरबाट ३० अर्ब राजश्व उठाउने अर्थ मन्त्रालयको लक्ष्य छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७