कागती खेतीबाट मनग्य आम्दानी


१४ पुष २०७९, बिहीबार
kagati
फाइल फोटो

तनहुँ । सरकारी सेवाबाट निवृत्तभएपछि बाँझो जमिनको उपयोग कसरी गर्न सकिन्छ भन्ने उदाहरण धनबहादुर रानाले प्रस्तुत गरेका छन् । क्षेत्रीय बाली संरक्षण प्रयोगशालाबाट उपसचिव तहबाट निवृत्त भएका उनले अध्ययन एवं जागिरका क्रममा सिकेको सीपलाई व्यवसायिक कागती खेतीमार्फत प्रयोगमा ल्याएका छन् ।

तनहुँ बन्दीपुर गाउँपालिका–१ तल्लोटारका राना भन्छन्, ‘बाँझो जमिनको उपयोग र जागिरका क्रममा सिकेको सीपको सदुपयोग हुने र मेरो खाली समय गुजार्न सहयोग पुग्ने लक्ष्यका साथ कृषि कर्ममा लागेको छु ।’

खेतीयोग्य जमिन खेर गएको देखेर पनि यो योजना बनाएको उनी बताउँछन् । ‘खेतीयोग्य जमिन बाँझिने क्रम बढ्दो अवस्थामा छ । बाँझिएर खेर गएको जमिनको सदुपयोग गर्नुपर्छ’, उनी भन्छन् । जमिन खेर जानुभन्दा कागती खेती गरी निर्वाहमुखी खेतीलाई व्यावसायिक बनाउन कृषिमा निवृत्त समय उपयोग गर्ने उद्देश्यले यसमा लागिरहेको राना बताउँछन् ।

कागतीको बिरुवा लगाएको एक वर्षदेखि नै उत्पादन दिन थालेको उनी बताउँछन् । ‘दुई वर्षमा फल्नुपर्ने कागती एक वर्षमा नै उत्पादन दिन थालेको छ । फूल फालेर पनि रु एक लाख जतिको कागती बिक्री गरिसकेको छु’, उनले भने । सेवा निवृत्तको खाली समय खेर गएको जमिनमा उपयोग गर्दै २१ रोपनी क्षेत्रफलमा आठ सय कागती रोपण गरेको उनले बताए । आम्दानी हुनुका साथै आफ्नो खेर जाने समय उपयोग गर्न बाँझो जमिनमा कागती खेती गरेको उनी बताउँछन् ।

उनले यहाँ कागती खेती सुरु गरेको करिब दुई वर्ष छ महिना भएको छ । उनले उक्त फार्ममा तीन प्रजातिका कागती लगाएको बताए । सुन कागती एक, सुन कागती दुई र मद्रासी प्रजातिको कागती लगाएका छन् । ‘सुन कागती एकको उत्पादन बाक्लो र राम्रो फलेको छ । यसमा रोग कम लाग्छ । सुन कागती एकको रसिलो र सुगन्ध आउँछ । सुन कागती दुई अलि पातलो फलेको छ । दाना र बोक्रा पातलो हुन्छ । मद्रासीको उत्पादन राम्रो छैन । मद्रासी कागतीको हाँगा पलाउने, ठूला दाना रसिलो भए पनि सुगन्ध नआउने र यसको उत्पादन कम हुन्छ’, किसान रानाले भने ।

तीन पटक फूल काटेर फाल्दा समेत छ क्विन्टल कागती उत्पादन भएको उनी बताउँछन् । अर्को सालदेखि उत्पादन दिने आशा गरेको उनी बताउँछन् । खेर गएको बाँझो जमिनको उपयोग हुने र बारीमा काम गर्दा आफ्नो शारिरीक स्वास्थ्यका लागि राम्रो हुन्छ भनेर कागती खेती सुरुआत गरेको उनी बताउँछन् ।

सुरुको वर्षमा करिब रु एक लाख जतिको उत्पादन गरिसकेको रानाले बताए । फूल टिपेर फाली उक्त आम्दानी भएको उनले बताए । ‘बाँझो जमिन उपयोग गर्ने लक्ष्यले युवालाई कृषि कर्मतर्फ प्रोत्साहन गर्नेछ । जमिन बाँझिने क्रम घटाउन सहयोग पुग्नेछ’, राना भन्छन् ।

कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले जिल्ला उत्कृष्ट कागती खेती भएको दाबी गरे । उनले बाँझो जमिनको उपयोगलाई प्राथमिकता दिन सकेमा वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था नरहेको बताए । युवालाई कृषिमा आबद्ध गराउन धनबहादुरको कागती खेती उदाहरणीय भएको उनको भनाइ छ । बाँझो जमिनलाई उपयोग गरी फरक–फरक खेती गर्न सके स्थानीयस्तरमा नै बजार पाउने उनले बताए ।
स्थानीय उत्पादनको बजार अभाव

भारतीय कागती आउन थालेपछि स्थानीय उत्पादनले बजार पाउनै मुस्किल रहेको छ । उत्पादनको लागत नै नआउने गरी बिक्री गरिँदासमेत स्थानीय उत्पादनले बजार नपाउँदा समस्या रहेको कृषक धनबहादुर बताउँछन् । ‘बजार अभाव हुने विषयमा पहिले नै अनभिज्ञ रहेको होइन तर पनि आफैँ कृषक भएर काम गर्दा अझ कृषकको पीडा थाहा पाइने रहेछ’, कृषक रानाले भने, ‘दशैँ–तिहारको समयमा मुग्लिनको बाटो बन्द भएको अवस्थामा कागतीको माग ह्वात्तै बढेको थियो । अहिले भारतीय कागती कम मूल्यमा पाइन्छ । यहाँको महँगो भनेर बिक्री गर्न समस्या हुने गरेको छ ।’

स्थानीय उत्पादनको बिक्री वितरण तथा बजारको व्यवस्थापन सरकारले नै गर्नुपर्ने अवस्था रहेको ज्ञान केन्द्र प्रमुख तिवारी बताउँछन । विशेषगरी स्थानीय सरकार, प्रदेश सरकार र सङ्घ सरकारले स्थानीय उत्पादनको बजारको व्यवस्थापन गरिदिएमा किसानलाई सहज हुने उनको सुझाव छ । कृषि ज्ञान केन्द्र तनहुँले बाँझो जग्गामा व्यावसायिक खेती गर्न प्रोत्साहन गर्ने उद्देश्यले अनुदानको व्यवस्था गरेको छ । विशेषगरी वैदेशिक रोजगारीबाट फर्केका युवालाई कृषि पेशामा आकर्षित गराउन यस कार्यक्रम ल्याइएको ज्ञान केन्द्रले जनाएको छ ।

फलफूल खेतीका लागि युवालाई प्रोत्साहन गर्न यो योजना ल्याइएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत तिवारीले बताए । उनका अनुसार आर्थिक वर्ष २०७८-७९ मा जिल्लाका १२ कृषि फार्मलाई अनुदान दिइएको छ । बाह्र कृषि फार्मलाई रु आठ लाख पाँच हजार अनुदान प्रदान गरिएको उनले जानकारी दिए । ‘विशेष गरी विदेशबाट फर्किएर बाँझो जग्गा उपयोग गरी खेती गरेका कृषि फार्मलाई मात्रै अनुगमन र अध्ययन गरी अनुदान उपलब्ध गराएका छौँ । यसले उनीहरुको व्यवसाय फस्टाएको अनुभूति गरेको छु’, उनले भने । विभिन्न प्रजातिका फलफूल खेती गरेका कृषकलाई मात्र अनुदान प्रदान गरिएको उनले बताए ।

कागती ३४ रोपनी, सुन्तला ४३ रोपनी, एभोकाडो सात रोपनी, केरा नौ रोपनी, ड्रागन फ्रुट १० रोपनी क्षेत्रफल बाँझो जग्गामा खेती गरिएको केन्द्रले जनाएको छ । जिल्लामा कुल एक सय सात रोपनी क्षेत्रफलको बाँझो जग्गामा फलफूल खेती भइरहेको छ । केन्द्रले रु २५ हजारदेखि रु एक लाख ७५ हजारसम्म फार्मलाई अनुदान दिएको छ ।

ज्ञान केन्द्रले उपलब्ध गराएको अनुदानले कृषि फार्मको सुधार भएको कृषक बताउँछन् । फार्मको उत्पादन गर्न प्रोत्साहन मिलेको उनीहरूको भनाइ छ । ज्ञान केन्द्रले आँबुखैरेनी र म्याग्दे गाउँपालिका सहित भानु, व्यास, भिमाद नगरपालिकाका किसानलाई अनुदान उपलब्ध गराइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७