यतीको विमान दुर्घटना : अध्ययनका लागि फ्रान्सबाट आइपुग्यो ‘एटीआर’ को विज्ञ टोली


३ माघ २०७९, मंगलवार
yati pokhara

काठमाडौं । पोखरामा आइतबार विहान भएको यती एयरलाइन्सको एटीआर विमान दुघर्टनाबारे अध्ययन गर्न फ्रान्सबाट विज्ञ टोली नेपाल आइपुगेको छ ।

एटीआर विमान निर्माता कम्पनीको नौ सदस्यीय विज्ञ टोली नेपाल आइपुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले जानकारी दिए । ‘एटीआर निर्माता कम्पनीबाट काठमाडौँ आएको नौ सदस्यीय विज्ञ टोली आजै पोखरा पुगिसकेको छ’, उनले भने, ‘विमान दुर्घटनापछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चासो बढेको छ ।’

सरकारले विमान दुर्घटनापछि पूर्व सचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरिसकेको छ । आयोग सदस्यमा हवाई विज्ञका रुपमा नेपाली सेनाका अवकाशप्राप्त उपरथी दीपकप्रसाद बाँस्तोला र अवकाशप्राप्त क्याप्टेन सुनिल थापा रहेका छन् । साथै हवाई मर्मत विज्ञ एकराज जङ्ग थापा र आयोगको सदस्य सचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् । आयोगले जाँचको काम सुरु गरिसकेको छ ।

विमान दुर्घटनामा परेका ७० जनाको शव प्राप्त भइसकेको छ भने बाँकी दुई जनाको खोजी जारी छ । उद्धार गरिएको शवमध्ये २२ वटा शव सनाखत गरी पोखरामै आफन्तलाई बुझाइने छ भने बाँकी शव नेपाली सेनाको हेलिकोप्टरमार्फत् काठमाडौँ ल्याइनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७